किन घट्यो महिला लघुवित्तको शेयर मूल्य ? ५४८३ पुगेको शेयर कसरी झर्यो ४५२७ मा ?

२६ बैशाख २०७८, आईतवार १९:४९

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आइतबार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ह्वात्तै घटेको छ । आइतबार पाँच हजार चार सय माथि पुगेको शेयर कारोबार बन्द हुँदासम्म घटेर चार हजार पाँच सय २७ रुपैयाँमा आइपुगेको छ ।

आइतबार सुरुमा भएको कारोबारको आधारमा लगानीकर्ताले प्रतिकित्ता झण्डै एक हजार रुपैयाँको दरले गुमाएका छन् । आईपिओ बाँडफाँडमा १० कित्ता पाएका सर्वसाधारणले आज एकै दिन नौ हजार भन्दा बढिले गुमाएका छन् ।

आईपिओ भरेकाहरुले पाँच हजार कटेपछि बिक्री गर्ने भन्ने मनोबैज्ञानिक बिक्रीका कारण आजको मूल्य घटेको अनुमान गरिएको छ । सबैभन्दा पहिला २६ नम्बर ब्रोकरबाट मूल्य घटाएर खरिद भएको थियो । ब्रोकर नम्वर ३३ बाट प्रतिकित्ता पाँच हजार ४९३ रुपैयाँमा कारोबार गरेमा २६ नम्वर ब्रोकरबाट मूल्य घटाएर ५३८६ मा कारोबार गरिएको थियो । त्यस लगत्तै ब्रोकर नं ५७ का ग्राहकले लगातार मूल्य घटाउँदै पूर्ववत मूल्य अर्थात ५०३० मा झारेका थिए ।

आइतबार कूल ५१ हजार ८८ कित्ता शेयर कारोबार भएको छ । हालसम्मको यो सबैभन्दा उच्च संख्या हो । कूल ३७ हजार ५०० लगानीलाई आईपिओ वितरण गरिएको महिला लघुवित्त वित्तीय संस्थाको शेयर पहिलो पटक आज बजारमा माग बमोजिम उपलब्ध भएको हो । साढे दुई बजेपछि नेप्सेमा खरिदकर्ता नै हराएका थिए । १० प्रतिशतको नकारात्मक सर्किट लागेको नेप्सेमा यसअघि खासै कारोबार नभएको महिला लघुवित्त वित्तीय संस्थाको १० कित्ता शेयर भएका लगानीकर्ताहरु अब धेरै बाँकी छैनन् ।

नेपालमा सञ्चालित लघुवित्त वित्तीय संस्था मध्येको उत्कृष्ट कम्पनीको रुपमा महिला लघुवित्त वित्तीय संस्थालाई हेरिएको छ । आज मूल्य केही घटेपनि आगामी दिन अझै मूल्यबृद्धि हुनसक्ने विश्लेषण बजारमा गरिएको छ ।

कम्पनीको कूल सम्पत्तिको मूल्य नै तीन हजार पाँच सय भन्दा बढि भएका कारण पनि धेरै मूल्य घट्ने सम्भावना देखिदैन । प्रतिशेयर कूल सम्पत्तिको मूल्य २६८ रुपैयाँ ४४ पैसा रहेको शिभम् सिमेन्टको शेयर मूल्य एक हजार पाँच सय भन्दा बढि भएको अवस्थामा तीन हजार पाँच सय भन्दा बढि प्रतिशेयर कूल सम्पत्ति भएको कम्पनीको शेयर मूल्य अझै बढ्न सक्ने सम्भावना छ । तर, नेपालमा शेयर कारोबारमा ठूला लगानीकर्ताहरुले सेटिङ गर्ने हुँदा अहिले नै यसै भन्न सकिदैन । साथै मिडियामा प्रकाशित कन्टेन्टबाट समेत शेयर मूल्य प्रभावित पारिने हुँदा महिला लघुवित्त कम्पनीको शेयर यो साताभरि नकारात्मक सर्किट लागेमा समेत अन्यथा मान्नु हुँदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*