कोरोनाको दोस्रो लहरबाट अर्थतन्त्रलाई जोगाउन प्रयत्नशिल छौंः गर्भनर अधिकारी

११ जेष्ठ २०७८, मंगलवार १३:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरले देशको अर्थतन्त्र फेरी अनिश्चिततातर्फ धकेलिएको धारणा व्यक्त गरेका छन् ।

मुलुकमा व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र बिस्तारै पुनरुत्थानतर्फ गइरहेका अवस्थामा कोरोनाको नयाँ भेरियन्ट अर्थात् दोस्रो लहरका कारण देशको समग्र अर्थतन्त्रमा नै प्रभाव परेको र अनिश्चिततातर्फ धकेलिएको बताएका हुन् ।

जेठ १० गते अन्तर्राष्ट्रिय सेमिनारमा भर्चुअल माध्यमद्धारा संचालित एशियन क्लियरिङ युनियन, संचालक समितिको ४९ औं बैठकलाई सम्बोधन गर्दै गर्भनर अधिकारीले दोस्रो लहरको कोरोनाको कारण अर्थव्यवस्था अनिश्चिततातर्फ धकेलिएको र कोभिड प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति थप प्रभावकारी नीतिगत व्यवस्था अवलम्बन गर्दै जाने योजनालाई नेपाल राष्ट्र बंैकले उच्च प्राथमिकतामा समेत राखेको बताएका हुन् ।

साथै उक्त बैठकमा कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र वित्तीय क्षेत्रलाई अग्रसर गराउन राष्ट्र बैंकले गरेका विभिन्न नीतिगत व्यवस्थाको समेत जानकारी गराए । उनले तरलता सहजीकरण, ब्याज दर कटौती, अतिरिक्त चालु पुँजी कर्जाको सुविधा, ऋण पुनर्संरचना/पुनर्तालिकीकरण, कर्जाको साँवा/ब्याज भुक्तानीको समय सीमा बढाउने जस्ता नीतिगत व्यवस्था गरिएको गभर्नर अधिकारीले जानकारी गराएका हुन् ।

कोभिड १९ बाट प्रभावित उद्योग व्यवसाय, साना तथा मझौला उद्यमको उत्थानका लागि कर्जामा सहुलियत दिनेगरी पुनर्कर्जा सुविधामा परिमार्जन गरिएको, पुनर्कर्जा कोषको सीमामो ५ गुणासम्म पुर्नकर्जा सुविधा उपलब्ध गराउन सक्ने जस्ता विषयका बारेमा पनि उनले जानकारी गराए । साथै कोभिडबाट प्रभावित पर्यटनसँगै घरेलु, साना र मझौला ब्यवसायमा जनशक्तिको तलब÷ज्याला भुक्तानीका निम्ति सरकारको सहयोगमा छुट्टै ५० अर्बको कोषका बारेमा पनि जानकारी दिएका थिए ।

गर्भनर अधिकारीले विद्युतीय भुक्तानि प्रणालीलाई बढाउँदै नगदरहित कारोबारलाई बढाउने कुरामा जोड दिए । निषेधाज्ञाको असहज अवस्थामा मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, क्युआर कोड, कनेक्ट आईपीएसलगायतका विद्युतीय माध्यमबाट कारोबार भइरहेको जानकारी गराए । साथै यस विद्युतीय भुक्तानी प्रणालीलाई अझ ब्यापक बनाउनुपर्नेमा जोड दिँदै नेपालको समष्टिगत अर्थतन्त्र समेत उक्त कार्यक्रमममा प्रस्तुुत गरेका थिए ।

उक्त भर्चुअल माध्यमबाट गरिएको कार्यक्रम रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) ले गरेको थियो । युनियनमा आबद्ध केन्द्रिय बैंकका तर्फबाट आ–आफ्नो देशको आर्थिक तथा वित्तीय स्थितिसँगै कोभिडको दोस्रो लहरले अर्थव्यस्थामा पारेको असरलाई न्यूनीकरण गर्न अवलम्बन गरिएका नीतिगत व्यवस्थाको विवरण प्रस्तुत गरिएको थियो ।

साथै एशियन क्लियरिङ युनियनको अध्यक्षतामा रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) नियुक्त भएको थियो । बैठकका निर्णयअनुसार ५० औं संचालक समितिको बैठक २०२२ जनवरीमा हुने निर्णय समेत गरेको छ । यशियन क्लियरिङ युनियमा बङ्गलादेश, भुटान, भीयतनाम, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान, श्रीलङ्का गरी नौ मुलुकका केन्द्रीय बैंकहरु आबद्ध छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*