बीमा कम्पनी र बैंकका शाखा खोल्ने निर्णय आज हुन सकेन, भोलि पुनः बैठक बस्ने

१८ जेष्ठ २०७८, मंगलवार १८:०८

काठमाडौं । कोरोना महामारी रोक्न सरकारले जारी गरेको निषेधाज्ञाका कारण तीन सातादेखि बन्द रहेको बीमा कम्पनीका शाखा कार्यालयहरु खुल्ला गर्ने सम्बन्धमा आज निर्णय हुन सकेन ।

राजधानी उपत्यकामा गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा आगामी जेठ २१ गतेदेखि केही खुकुलो बनाउने सम्बन्धमा आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बिना निष्कर्ष टुंगिएको र थप छलफल गरेर भोलि निर्णय हुने काठमाडौं जिल्ला प्रशासन कार्यालयका सिडिओ कालिप्रसाद पराजुलीले बीमापोष्टलाई जानकारी दिए ।

तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको हिजोको अनौपचारिक छलफलमा बैंक तथा बीमा कम्पनीका शाखा कार्यालयहरु खुल्ला गर्ने सहमति भएपनि कसरी खुल्ला गर्ने, सुरक्षा मापदण्ड के के बनाउने भन्ने सम्बन्धमा निर्णय भइसकेको छैन ।

राजधानी उपत्यकामा कोरोना भाइरसको नयाँ संक्रमितहरु घटेको भएपनि एकै पटक खुल्ला गर्दा पुनः फैलिन जोखिमका कारण सुरक्षा मापदण्ड सम्बन्धमा ठोस निर्णय भएपछि के के खुल्ला गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय हुने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं स्रोतका अनुसार २१ गतेदेखि किराना पसल, सकारी कार्यालयहरु, सार्वजनिक संस्थान तथा बैंक र बीमा कम्पनीका शाखा कार्यालयहरु समेत खुल्ला गर्ने कोणबाट आजको छलफल भएको थियो । तर, औपचारिक निर्णय भने भइसकेको छैन । गत बैशाख २९ गतेदेखि जारी निषेधाज्ञालाई कडा बनाउँदै बीमा कम्पनीका शाखा कार्यालयहरु समेत खोल्न नदिने निर्णय गरेको थियो ।

निषेधाज्ञा खुकुलो बनाउनेबारे उपत्यकाका सिडिओहरुको बैठक बस्दै, बीमा कम्पनी खोल्ने तयारी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*