अभिकर्तामाथि अर्को बज्रपातको संकेत, इसेवालाई अभिकर्ता लाइसेन्स दिँदै अध्यक्ष सिलवाल

२३ जेष्ठ २०७८, आईतवार २३:२२

काठमाडौं । बीमा अभिकर्ताहरु चुप लागेर बस्ने हो भने अबको केही दिनभित्रैमा अर्को बज्रपात सहनु पर्ने भएको छ । बीमा समितिका अध्यक्ष बनेर आएका सूर्य प्रसाद सिलवालले बीमा ऐन, नियम र नियमनको सामान्य विधिलाई समेत धज्जी उडाउँदै व्यक्तिगत लाभका लागि जस्तोसुकै काम गर्न थालेपछि बीमा अभिकर्ताहरुको रोजी रोटी खोसिने भएको छ । हचुवाको भरमा बीमा समितिले बीमा अभिकर्तालाई ऋण लिन पाउने सुविधाबाट प्रतिबन्धित लगाएर पीडामा रहेकोमा अब अर्को कडा बज्रपातको सामना गर्नुपने भएको छ ।

बीमा समिति स्रोतका अनुसार अध्यक्ष सिलवालले करिब पाँच लाख बीमा अभिकर्ताको रोजीरोटी खोसेर निजि कम्पनीलाई सुम्पने तयारी अन्तिम चरणमा पुर्याएका छन् । अध्यक्ष सिलवालले विद्युतीय भुक्तानी सेवा प्रदायक इसेवालाई बीमा अभिकर्ताको लाइसेन्स दिन आवश्यक सबै सेटिङ सम्पन्न गरेका छन् । निजि कम्पनीलाई बीमा अभिकर्ताको लाइसेन्स दिनका लागि बीमा समितिका अध्यक्ष सिलवालले गैर कानुनी तरिकाले निर्णय गर्न लागेका छन् ।

बीमा अभिकर्ताको लागि निजि कम्पनीलाई लाइसेन्स दिन नपाइने व्यवस्था विपरित अध्यक्ष सिलवाल निजि कम्पनीलाई लाइसेन्स दिन हतारिएका छन् । बीमा अभिकर्ताको लाइसेन्स निजि कम्पनीलाई दिएमा सिंगो बीमा क्षेत्र तहस नहस हुने बीमा क्षेत्रका जानकारहरु बताउँछन् । बीमा समितिमा नियुक्त भएर तीव्र गतिमा विकास हुँदै गइरहेको बीमा व्यवसायमा हुडलेर व्यक्तिगत स्वार्थ सिद्ध गर्ने अभिप्रायमा देखिएका अध्यक्ष सिलवालले पुनर्बीमा कम्पनीलार्ई सेटिङमा लाइसेन्स दिएकै शैलीमा बीमा अभिकर्ताको लाइसेन्स निजि कम्पनीलाई दिएमा अन्यथामा नमान्दा हुन्छ । बीमा अभिकर्ताहरुले भने निजि कम्पनीलाई बीमा अभिकर्ताको लाइसेन्स दिने सोच मात्रै पनि बीमा समिति र सिंगो बीमा व्यवसायको लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिएका छन् ।

यसअघि गत बैशाख २ गते बीमा समितिका अध्यक्ष सिलवालले हचुवाको निर्णय गर्दै सबै कम्पनीमा कार्यरत जीवन बीमा अभिकर्ताले आफ्ना कम्पनीबाट लिएको ऋण असार मसान्तभित्र जुनसुकै हालतमा असुल उपर गर्न निर्देशन दिएका थिए । सो निर्देशन लगत्तै अधिकांश बीमा अभिकर्ताहरुको खाता रोक्का भएको अवस्था छ । चर्को दवावपछि आज उक्त निर्णय संशोधन गर्दै ऋण तिर्ने अवधी थप गर्ने निर्णय गरेको छ । बीमा अभिकर्ताहरुले उक्त निर्णय समेत नमान्ने घोषणा गरिसकेका छन् ।

कोरोना महामारीका बीचमा बीमा समितिको निर्देशनपछि बीमा कम्पनीबाट आउने रकम समेत बन्द भई तनावमा रहेका अभिकर्ताहरुलाई बीमा समितिले अभिकर्ताको पेशा नै धरापमा पार्ने गरी निज कम्पनीलाई अभिकर्ताको लाइसेन्स वितरण गर्न लागेको हो । यसअघि अर्थमन्त्रीसँगको सेटिङकमा बैंकले बैंकास्योरेन्स लाइसेन्स लिएका कारण चर्को विकृत्ति बढेको थियो । बीमा अभिकर्ताहरुको चर्को दवावपछि नेपाल राष्ट्र बैंकले बैंकास्योरेन्स बन्द गरिसकेको छ ।

बीमा समितिमा सेटिङका अध्यक्ष बनेका सिलवालले सेटिङ अनुसार नै छानी छानी कुकृत्यहरु गर्दै अघि बढ्न थालेपछि सिंगो बीमा क्षेत्र तरंगित बन्न पुगेको छ । यसअघि कोरोना महामारीमा सरकारले घोषणा गरेको लकडाउनकै दिनमा २१ दिने सूचना निकालेर सेटिङमा अनुसार १० अर्बको पुनर्बीमा बीमा कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाइसकेका छन् ।

बीमा क्षेत्रको ज्ञान शून्य निजामति कर्मचारीमा आबद्ध भर्ई सचिवसम्म भएर अवकाश प्राप्त सिलवाल यतिबेला समग्र बीमाको नियमन भन्दा लाभका लागि सेटिङको लागि मात्रै काम गर्ने गरेको चर्चा बीमा क्षेत्रमा चल्न थालेको छ ।

2 thoughts on “अभिकर्तामाथि अर्को बज्रपातको संकेत, इसेवालाई अभिकर्ता लाइसेन्स दिँदै अध्यक्ष सिलवाल

  1. नगेन्द्र says:

    सम्वन्धित विषय को जानकारी भएको भए पो राम्रो कुरा हुनु यहाँ पैसाको ज्ञान, पद भए पछि यस्तै हो ।
    यहाँ बीमा समीति, बीमा कम्पनी, बीमा कर्मचारी बीमीत सबैले अभिकर्ता नै बढ़ी देंखेको छ । बीमा पोलिसि एउटा बेचेर देखाउ कती गारो छ ? महीनौ महिना को कमाइ लाई सजिलो देख्नु पाप मात्र होइन महा पाप हो ।

  2. सुनिता देवी श्रेष्ठ says:

    अध्यक्षकाे पदमा बसेर नियम विपरित अाफ्नाे स्वार्थकाे लागि मनाेमानी गर्नेलाई कार्वाही गर्नु पर्छ ।

Leave a Reply to नगेन्द्र Cancel reply

Your email address will not be published. Required fields are marked *


*