घुस सहित रंगेहात समातिएका सशस्त्रका इन्स्पेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुस लिएको आरोपमा रंहेगात पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) वकिल अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार धनुषास्थित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस नक्टाझिजमा कार्यरत निरीक्षक अधिकारीले कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजना अन्तर्गत माटो तथा ग्राभेल फिलिङ्ग कार्यमा प्रयोग हुने सवारी साधनलाई रोक्ने, फिल्डमा माटो तथा ग्राभेल झार्न नदिने र विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिने गरेका थिए।
उनीमाथि काम सहजरूपमा गर्न दिने नाममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीपछि अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा इन्स्पेक्टर अधिकारीले सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ परेका थिए।
अनुसन्धानमा उनले सडक निर्माण कार्यमा प्रयोग हुने सवारी साधन सञ्चालनमा अवरोध सिर्जना गरी सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि ४० हजार रुपैयाँ बिगो कायम गर्दै सोही बराबर जरिबाना र कैद सजायको मागसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो।












