सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठमध्ये को बन्लान् प्रधान न्यायाधीश ?

काठमाडौं । रास्वपाभित्र सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश हुन नदिन चर्को लविङ जारी छ । नेकपा एमालेको तर्फबाट संविधानसभामा सदस्य बनिसकेकी सपनालाई प्रधानन्यायाधीश बनाउँदा एमालेकरण हुने भन्दै रास्वपाभित्र आलोचना भइरहेको हो ।
तर आज बस्ने संवैधानिक परिषदको बैठकले सपना प्रधान मल्ललाई प्रधान न्यायाधीश बनाउने प्रबल सम्भावना रहेको विश्लेषण गरिएको छ । मुख्यतः सपना प्रधान पछिका न्यायाधीशहरूको पनि ट्र्याक रेकर्ड राम्रो नभएकोले पनि संवैधानिक परिषदले बाध्य भएर नेपालको दोस्रो महिला प्रधानन्यायाधीशको रूपमा सपना प्रधानलाई अघि सार्ने सम्भावना रहेको छ ।
प्रधानन्यायाधीश हुने लाइनको पहिलो नम्बरमा बरिष्ठताका आधारमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन् । न्यायपरिषदले उनीहरूको नाम सिफारिस गरिसकेको छ ।
कुनै सूचना वा स्रोतबाट प्राप्त समाचार नभई स्वतन्त्र विश्लेषणका आधारमा हेर्दा सपना प्रधान मल्लको सम्भावना सबैभन्दा बलियो देखिन्छ । सपना प्रधान पछिको विकल्पमा जानुपर्दा सबैभन्दा अन्तिम अर्थात तिल प्रसाद श्रेष्ठमा जानुपर्ने बाध्यता भएकोले प्रधानमन्त्री बालेन्द्र शाहले नचाहेर पनि पहिलो नम्वर अर्थात सपना प्रधानमै अडिन बाध्य हुने अवस्था सिर्जना भएको छ । दोस्रो नम्बरमा रहेका कुमार रेग्मीको केही विवादित विषय भएकोले असम्भव जस्तै छ । हरि फुँयाल पनि विगतमा एमालेको ट्याग लागिसकेकोले सपनाको सट्टामा छनौट गर्नुपर्ने कुनै कारण छैन । बरु उल्टै फैसला गर्न खुट्टा कमाउने गरेकाले पनि समस्या छ । अर्का न्यायाधीश मनोज कुमार शर्मा र नहकूल सुवेदीमा गतिलो कार्य सम्पादनको अपेक्षा नगरिएकोले सपनापछि तिल प्रसाद श्रेष्ठमै जानुपर्ने बाध्यता आजको संवैधानिक परिषदलाई देखिन्छ ।
बरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्ति गर्ने विगतको असल अभ्यासलाई पछ्याउँदा पनि सपना प्रधान मल्ल नै प्रधानन्यायाधीश हुने सम्भावना बलियो छ । कुनै कारणवश सपना प्रधानको नाम काटिएको अवस्थामा आजै तिल प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश बनाउने सम्भावना पनि उत्तिकै छ ।
प्रधानन्यायाधीश नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्न आज अपरान्ह ५ः०० बजे संवैधानिक परिषदको बैठक आह्वान गरिएको छ । सर्वोच्च अदालतमा रिक्त प्रधानन्यायाधीश सहितका अन्य रिक्त संवैधानिक परिषदका पदहरूमा आजै नियुक्तिको सिफारिस हुने जनाइएको छ । आजको संवैधानिक परिषदको बैठकमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल भने उपस्थित हुने सम्भावना छैन । किनभने आफैं उम्मेदवार भएकोले स्वार्थ बाझिने सिफारिस गर्न नमिल्ने भएकोले प्रधान अनुपस्थित हुनेछिन् ।
आजको बैठकमा रास्वपाका तीन जना प्रधानमन्त्री शाह, सभामुख डिपी अर्याल र कानुन मन्त्री सोविता गौतम तीन सदस्यीय हुनेछन् । माओवादीबाट राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले प्रतिनिधित्व गर्नेछन् भने श्रम संस्कृति पार्टीबाट उपसभामुख बनेकी रुवी कुमारी सहभागी हुनेछिन् । त्यस्तै प्रमुख प्रतिपक्ष दलका नेताका रूपमा नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्दम्वे सहभागी हुनेछन् । आजकै बैठकले प्रधानन्यायाधीश सहितका पदाधिकारीहरूको नियुक्तिको टुंगो लाग्नेछ । संवैधानिक परिषदले गरेको सिफारिसको आधारमा सरकारले संसदीय सुनुवाई समतिमा पठाएर त्यहाँबाट अनुमोदन भएपछि मात्रै प्रधानन्यायाधीशको नियुक्तिको लागि बाटो खुल्नेछ ।
हाल सर्वोच्च अदालतका प्रधानन्यायाधीश, निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य रिक्त छ । त्यस्तै राष्ट्रिय महिला आयोग, मुस्लिम आयोग, थारू आयोगमा पनि पदाधिकारीहरू रिक्त रहेका छन् । अर्को महत्वपूर्ण पद राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष पद पनि रिक्त छ ।












