ललितपुरको सानेपामा चोरी गरेको अभियोगमा तीनजना पक्राउ

२९ बैशाख २०८३, मंगलवार १३:५०

काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सानेपाको खरिबोट बस्ने खडक नगरपालिका–१० घर भएका २४ वर्षीय समिर चौधरी, कुपण्डोल घर भएकी ४८ वर्षीया पूजा शर्मा जोशी र न्यूरोडस्थित कृष्णा डाईमण्ड नामक सुनचाँदी सञ्चालन गरी बस्ने भारत घर भएका ४५ वर्षीय श्रवण कुमार रहेका छन्।

विभिन्न मितिमा ललितपुर महानगरपालिका–२ सानेपामा डेरा गरी बस्ने मिन झा को कोठाबाट करिब १८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल र बबिता छिनाल परियारको कोठाबाट करिब १५ लाख ३५ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।

साथै प्रहरीले उनीहरूको साथबाट सुनका विभिन्न गरगहना र नगद २२ लाख रूपैयाँ समेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा समिर गरगहना चोरी गर्ने, पूजा चोरीका गरगहना बिक्री गर्ने र श्रवण चोरी गरगहना खरीद तथा गाल्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ। उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*