टीकापुर नगरपालिकाका जनप्रतिनिधी र स्थानीयसँग बीमा समितिको अन्तरक्रिया, कृषि बीमा गर्न नपाएको गुनासो

२३ भाद्र २०७८, बुधबार १६:२०

धनगढी । बीमा समितिको आयोजनामा कैलालीको टीकापुर नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय जनतासँग आज अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिका उप निर्देशक विरोध भट्टको सभापतित्वमा टीकापुर नगरपालिकाका मेयर टपेन्द्र बहादुर रावल तथा उपमेयर केसरी कुमारी रावल बिष्टको आतिथ्यमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सुदूर पश्चिम क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्न पुगेको समिति समक्ष स्थानीय किसानले कृषि बीमा गर्न नपाएको गुनासो गरेका छन् । अन्तरक्रिया कार्यक्रममा कृषि बीमाको लागि तोकिएको राष्ट्रिय बीमा कम्पनीको शाखा धनगढीमा भएको र कैलालीबाट धनगढीसम्म धाउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय बीमितहरुले बीमा कम्पनीले दावी भुक्तानी दिन ढिलाई गर्ने र बीमा समितिमा उजुरी दिँदा समेत समयमा छिनो फानो नभई महिनौं अल्झिनुपर्ने अवस्था अन्त्य गर्न माग गरेका छन् । अन्तरक्रिया कार्यक्रममा उपस्थित नन्द बहादुर रावलले भने, ‘हामीले बीमा कम्पनीले अन्याय गरे भनेर बीमा समितिमा उजुरी दिन पुग्छौं, फेरि बीमा समितिमा महिनौं अल्झिनु परेको छ । ढिलो न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो, त्यसतर्फ बीमा समितिको ध्यान जाओस् ।’

कार्यक्रममा टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावलले बीमाको महत्वबारे प्रष्ट पार्दै बीमा आम जनताको दैनिकीलाई बीमासँग जोडेर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा उपमेयर केशरी कुमारी रावलले उत्पीडित, पछाडि पारिएका, महिला तथा न्यून आय भएका जनतालाई बीमामा अनुदान दिइनुपर्ने बताईन् ।

बीमा समितिका सहायक निर्देशक निश्चलराज बाँनिया, सहायक प्रथम अनुराग पाण्डेय उपस्थितिमा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका वडा अध्यक्षहरु, स्थानीय बीमा कम्पनीका सबै कर्मचारीहरु, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, स्थानीय किसानहरुको उपस्थिति रहेको थियो ।

रञ्जु आचार्यको सहयोगमा तयार पारिएको रिपोर्ट ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*