१०० मिनेटको आतंकवादी हमला, जसले बदल्यो विश्व बीमा व्यवसायको स्वरुप

रोवर्ट पि. हार्टविग, पिएचडी, सीपीसीयू
२६ भाद्र २०७८, शनिबार १७:१६

सन् २००१, सेप्टेम्वर ११ मा अमेरिकामा भएको आतंकवादी हमलामा प्राकृतिक र मानवीय विनासबाट भन्दा इतिहासकै ठूलो बीमा क्षति भएको थियो । जीवन तथा निर्जिवन बीमा समेत गरी कूल ४० बिलियन डलर अर्थात ४६ खर्ब ९८ अर्ब ७६ करोड भन्दा बढिको क्षति भएको विश्वास गरिएको छ । त्यति ठूलो विपत्ति विश्व बीमा क्षेत्रमा कहिल्यै आउने कल्पना समेत गरिएको थिएन । बीमा गरिएको सम्पत्ति मात्रै नभएर मानवीय क्षति र कर्मचारीलाई क्षतिपूर्ति दिने कोणबाट समेत यति ठूलो आकारमा पहिलो पटक भएको थियो ।

एउटा घटनाबाट हवाई तथा दायित्व बीमामा डरलाग्दो गरी असर परेको थियो । यति ठूलो र अप्रत्यासित घटनाको कहिल्यै कल्पना नगरेकोले त्यसको लागि उनीहरुले बीमा शुल्क लिएका थिएनन् । उक्त घटनाले अमेरिकामा जुनसुकै बेला ठूला आतंकवादी घटना घटेर ठूलो मात्रामा बीमा दावी पर्ने त्रास फैलिएको थियो भने बीमक कम्पनी र पुनर्बीमा कम्पनीहरुले बीमा शुल्क र अण्डरराईटिङ प्रक्रिया समेतमा उतार चढाव आएको थियो । राज्यमार्फत बीमा क्षेत्रको नियमन

गर्दै आएका निकायहरुले समेत आगामी दिनमा त्यस्ता आक्रमण भएमा सम्भावित जोखिमबाट जोगाउन विभिन्न निर्णयहरु गरे । नियामक निकायहरुले तत्कालै बीमा क्षेत्रको अध्ययन अनुसन्धान तथा सर्भेमा जोड दिई पहिलो १२ महिनामा विभिन्न उपयुक्त निर्णयहरु गर्दै, फाइनान्सियल, आर्थिक, राजनीतिक र संरचनागत विश्लेषण गर्दै निर्णयहरु लागू गर्दै गए ।

 

सेप्टेम्वर ११ को घटना विवरण
समर सिजनको अन्त्यतिरको सूर्योदयको विहानीमा अमेरिकाको बोस्टन, म्यासाचुसेट्स, न्यूयोर्क न्यूजर्सी र वासिङ्टन डिसीबाट उडेका चार व्यापारिक उडानमा रहेको जहाजहरु हवाई उडानको इतिहासमा नयाँ रेडर्क राख्दै एक पटक जलेर खरानी हुन पुगे । प्रत्येक जहाजको अघिल्लो पंक्तिमा हुने बिजनेस क्यासमा सवार चारदेखि पाँच जना अपहरणकर्ताहरुले बलपूर्वक कटपिटमा छिरेर बलपूर्वक जहाजलाई नियन्त्रणमा लिएका थिए । उनीहरुले क्रू मेम्बरलाई जहाजभित्रै मारेका समेत थिए । विमानस्थलबाट उडेको केही समयपछि नै चारै वटा हवाई जहाजहरु अपहृत भएका थिए । उनीहरु सबैले जहाजलाई अमेरिकी सैन्य, अर्थतन्त्र र राजनीति पावरको संकेतको रुपमा रहेको वल्र्ड ट्रेड सेन्टरको ट्वीन टावरतर्फ अघि बढाइरहेको थिए । सेप्टेम्वर ११ गतेको विहान ८ः४६ बजे बोस्टनबाट लसएन्जल्सको लागि उडेको अमेरिकन एयरलाइन्सको जहाज वल्र्ड ट्रेड सेन्टरको उत्तर तर्फको टावरमा ठोक्काइयो । त्यसको १७ मिनेटपछि अर्थात विहान ९ः०३ बजे अर्को जहाज पनि सोही ठाउँमा आईपुग्यो । दोस्रो जहाज युनाईटेड एयरलाइन्सको थियो र सो जहाज टावरको दक्षिण तर्फको भवनमा ठोक्काइयो ।

अपहरणमा परेको तेस्रो अमेरिकन एयरलाइन्सको जहाज ९ः४३ बजे अमेरिकी परराष्ट्र मन्त्रालयस्थित भवनमा ठोक्काउने प्रयास गर्दा गर्दै दुर्घटनामा पर्यो । चौथो युनाईटेड एयरलाइन्सको उडान नं ९३ को जहाज विहान १०ः१० बजे पिटस्बर्गको ग्रामिण क्षेत्रमा दुर्घटनाग्रस्त हुन पुग्यो । अहरणमा परेको चौथो जहाज ह्वाईट हाउसमा ठोक्काउने योजनामा रहेको विश्वास गरिएको थियो । सो जहाजमा यात्रु र अपहरणकारीहरुका बीचमा जहाजभित्रै भिडन्त भई अपहरणकारीले जहाज पूर्ण रुपमा नियन्त्रणमा लिन नपाएकोले उक्त क्षेत्रमा पुगेर दुर्घटनाग्रस्त हुन पुगेको थियो । विशाल जहाजहरु ठोक्किएपछि अमेरिकाको वैभव मानिएको वल्र्ड ट्रेड सेन्टरका दुवै भवन (ट्वीन टावर) पूर्ण रुपमा ध्वस्त भए । दक्षिणतर्फको भवन विहान १०ः०५ बजे ढल्यो भने उत्तरतर्फको भवन विहान १०ः२३ बजे ढल्न पुगे ।
उक्त दुवै भवन ध्वस्त हुँदा हजारौं मानिसहरुको भित्रै पुरिए । करिब ४०० अग्नि नियन्त्रकहरु आगो निभाउने र उद्धार गर्ने प्रयास गर्दा गर्दै मारिए । करिब एक करोड ८० लाख टन सामानहरु उत्सर्जन भए । त्यसले कैयौं परसम्म धुवाको मुस्लो फैलियो र आगोलागी भयो ।

सम्पत्ति तथा मानवीय क्षति
घटनाको १०० मिनेटभित्रैमा तीन हजार भन्दा बढि मानिसहरुको मृत्यु भयो भने दुई हजार पाँच सयभन्दा बढि मानिसहरु घाइते भए । ३१ मिलियन स्क्वायर फिटका विश्वकै सबैभन्दा मानव निर्मित भवनहरु क्षणभरमै खरानीमा बदलिए । अमेरिकाले चार वटा विशाल जहाज र विश्वलाई वैभवशाली देखाउने दुई भवन ध्वस्त भयो । मावन इतिहासमै सबैभन्दा ठूलो मानव सिर्जित विनास थियो । वल्र्ड ट्रेड सेन्टरमा मात्रै छ हजार ५०० भन्दा बढि मानिसको ज्यान गएको सो विश्वकै सबैभन्दा धेरै मानिस एउटै घटनामा घाइते भएका थिए ।

बीमा कम्पनीहरुमा तारन्तारको दावी
सेप्टेम्वर ११ गते दिउँसो देखि नै बीमा कम्पनीहरुमा तारन्तार बीमा दावीको फोनहरु बजिरहेको थिए । लगत्तै मिडिया र नियामक निकायहरुले बीमा कम्पनीहरुमा लगातार सम्पर्क गरेर क्षतिको विवरण मागिरहेका थिए । र, सोधिरहेका थिए, बीमा कम्पनीले यति ठूलो दावी भुक्तानी व्यहोर्न सक्छ ? साथै बीमा कम्पनीहरुले दावी भुक्तानी दिन्न भन्न मिल्छ कि मिल्दैन ? भनेर लगातार सोधपुछ भइरहेका थिए ।

बीमा क्षेत्रमा नयाँ अध्यायको सुरुवात
सेप्टेम्वर ११ को घटना भएको भोलिपल्ट देखि नै बीमामा आतंकवादी हमला र यसले पार्ने प्रभावबारे बहस सुरु भयो । अप्रत्यासित रुपमा हुनसक्ने आतंकवादी हमला, बीमा शुल्कको बृद्धि तथा अण्डरराईटिङ प्रक्रियाबारे चर्को बहसहरु भए ।

सेप्टेम्वर ११ को बीमा दावी
सेप्टेम्वर ११ को आतंकवादी हमलामा सन् २००२ को सुरुमा अमेरिकी इन्स्योरेन्स सर्भिस अफिसले २०.३ बिलियन डलरको क्षति भएको प्रतिवेदन सार्वजनिक गर्यो । २००२ कै जुनमा पुनः संशोधन गरी १६.६ बिलियन डलरको क्षति भएको भनियो । सो घटनामा कूल ५१ हजार वटा दावी परेका थिए । सो मध्ये १५ हजार २०० वटा कमर्सियल क्लेम थिए भने ३१ हजार ५०० व्यक्तिगत सम्पत्ति दावी, चार हजार ३०० अटोमोबाइल दावी परेका थिए ।

एक्जिबिट २ ले दिएको सुझाव अनुसार सेप्टेम्वर ११ को घटनामा कूल ४० बिलियन डलरको क्षति भएको निष्कर्ष २००२ को अगष्टमा गरेको थियो । निर्जिवन बीमा क्षेत्रमा कूल ३७.५ बिलियन अर्थात ९३.३ प्रतिशत र जीवन बीमा क्षेत्रमा २.७ बिलियन अर्थात ६.७ प्रतिशत क्षति भएको थियो । बीमा, बैंक तथा रेटिङ एजेन्सी समेत गरी कूल ४३ बिलियन क्षति भएको अनुमान छ । वल्र्ड ट्रेड सेन्टरमा मृत्यु हुनेको संख्या एकिन गर्न नसकिएकोले क्षतिको यकिन तथ्याङ्क अझै आइसकेको छैन ।

खर्बौ रुपैयाँ कसरी गरियो दावी भुक्तानी ?
सेप्टेम्वर ११ को घटनामा एकै पटक दावी भुक्तानी गर्न बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरु असफल भए । विश्वभरकै पुनर्बीमा कम्पनीहरु प्रभावित भएकोले तीन वर्षसम्म लगाएर उक्त क्षतिको दावी भुक्तानी गरिएको थियो भने केही कम्पनीले वर्षौसम्म त केहीले झण्डै एक दशक नै लगाएर भुक्तानी गरेका थिए । वर्षौसम्म उक्त घटनाको दावी भुक्तानी नगरिएको उदाहरणहरु समेत भेटिएका छन् । वल्र्ड ट्रेड सेन्टरको धेरै परसम्म विषालु ग्याँस फैलिएको र यसको सामाजिक र मानवीय असरको यकिन क्षति निकाल्न नै सर्भेयर र वातावरणविदलाई वर्षौ समय लाग्यो ।

परामर्शदर्ता कम्पनी ए.टि. कार्नेको अनुमान अनुसार घटना भएको वर्ष २००१ मा जम्मा १५ प्रतिशत मात्रै दावी भुक्तानी भएको थियो । त्यस्तै सन् २००२ मा ३५ प्रतिशत दावी भुक्तानी गरियो भने सन् २००३ मा १५ प्रतिशत र सन् २००४ र सोभन्दा पछाडि बाँकी रहेको ३५ प्रतिशत भुक्तानी गरिएको थियो ।

पुननिर्माणको बीमाको भूमिका
न्यूयोर्क शहरमा सेप्टेम्वर ११ को घटनाबाट कूल ८३ बिलियनको क्षति पुगेको थियो । र, बीमा कम्पनीहरुले भुक्तानी गरेको ४० बिलियन डलरबाट लगत्तै पुननिर्माण सम्भव भएको थियो । संघीय सरकारले जम्मा २० बिलियन डलर सहयोग गर्दा जनताले सहयोग संकलन गरेर १.५ बिलियन संकलन गरेका थिए । वल्र्ड ट्रे सेन्टर पुननिर्माण तत्कालै हुनुमा बीमा कम्पनीहरुको ठूलो हात थियो । सो क्षेत्रको घर तथा भवनको पुननिर्माणको लागि बीमा कम्पनीहरुले ९.५ बिलियन डलर बीमा दावी भुक्तानी गरेका थिए ।

बीमा कम्पनीहरुले कसरी गरे स्रोत व्यवस्थापन
सेप्टेम्वर ११ तारिखको विहानको १०० मिनेटभित्रैमा विश्वकै सबैभन्दा अग्लो ट्वीन टावरहरु जमिनमा मिलिसकेका थिए । अमेरिकी सरकारी भवन पेन्टागनमा समेत क्षति पुगेको थियो । हजारौं मानिसहरु एकै पटक मृत्युवरण गरिसकेका थिए । अर्बौ मूल्यका चार वटा हवाई जहाज ध्वस्त भइसकेका थिए । सेप्टेम्वर ११ को घटना क्षणभरमै विश्वभर फैलिएसँगै अमेरिकी बीमा कम्पनी र विश्वभरकै पुनर्बीमा कम्पनीहरु स्तब्ध बने । दशौं हजार बीमितहरुको दावी सम्बोधन गर्न बीमा कम्पनीहरुलाई भ्याई नभ्याई थियो । परिणामतः २००२ को जुलाईमा एउटा पुनर्बीमा कम्पनी र अन्य स्थानीय बीमा कम्पनीहरुले दावी भुक्तानी दिन नसकेर टाट पल्टिए । विश्वभरबाट ११९ वटा बीमा कम्पनीहरु सो घटनाबाट प्रभावित भए । त्यस्तै विश्वभरका प्रायः सबै पुनर्बीमा कम्पनीहरु उक्त घटनाबाट प्रभावित भए ।

सेप्टेम्वर ११ को घटनापछि अमेरिकी मात्रै नभई विश्व बीमा बजारमा ठूला परिवर्तनहरु भए । आतंकवादी हमलामा भएका क्षतिको बीमा दावी भुक्तानी गर्नु नपर्ने व्यवस्था गरियो । अमेरिकी इन्स्योरेन्स सर्भिस अफिसले आतंकवादी हमलामा भएको क्षतिको दावी भुक्तानी नपाइने व्यवस्था गरियो । त्यसपछि विश्वभर नै आतंकवादी हमला तथा हुलदंगाबाट पुगेको क्षतिको दावी भुक्तानी नदिने व्यवस्था थप गरियो । (रिसर्च आर्टिकको महत्वपूर्ण अंशको भावानुवाद ।)

(लेखक इन्स्योरेन्स इन्फरमेशन इन्टिच्यूट (iii) का बरिष्ठ उपाध्यक्ष हुन् ।)

sept11paper

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*