रोजगार सम्झौता बिना काम लगाउने अभ्यास रोक्न श्रम मन्त्रालयको निर्देशन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नलगाउन वा नगराउन सबै सरोकारवालालाई अनुरोध गरेको छ।
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफलगायत कर्मचारी तथा अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूलाई श्रम सम्झौता नगरी काममा लगाइएको र प्रचलित कानुनले तोकेकोभन्दा बढी समय काम गराइएको भन्ने उजुरी तथा गुनासो प्राप्त भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले श्रम ऐन, २०७४ को दफा २ (ढ) अनुसार ‘रोजगार सम्झौता’ भन्नाले रोजगारदाता र श्रमिकबीच सेवा, शर्त र सुविधाका सम्बन्धमा भएको सम्झौता बुझिने र सो शब्दले रोजगारदाताले श्रमिकलाई दिएको नियुक्ति पत्रसमेत जनाउने व्यवस्था रहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा कानुनअनुसार प्रतिदिन आठ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने, बढी समय काम गर्न बाध्य पार्न नहुने तथा आवश्यक परेमा पनि प्रतिदिन चार घण्टा र हप्तामा २४ घण्टाभन्दा बढी अतिरिक्त समय काम गराउन नपाइने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ।












