टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड, नपरेको रकम भोलिदेखि फिर्ता हुने

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ।
कम्पनीले कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।
स्थानीय बासिन्दाका लागि मिति २०८२ फागुन २७ गतेदेखि चैत ११ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन २७ गतेदेखि चैत १ गतेसम्म आवेदन खुला गरिएको थियो। सो अवधिमा स्थानीयतर्फ १ लाख २० हजार र वैदेशिक रोजगारीतर्फ ३० हजार ३०६ जनाले आवेदन दिएका थिए।
कम्पनीका अनुसार दुवै समूहको शेयर बाँडफाँड वैशाख ४ गते शुक्रबार नै सम्पन्न भइसकेको छ। स्थानीय बासिन्दाले १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ३ लाख ३ हजार ६७ कित्ता शेयर प्राप्त गरेका छन्।
बाँडफाँडमा परेका आवेदकहरूले आफ्नो नतिजा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइटमार्फत हेर्न सक्नेछन्। बाँडफाँडमा नपरेका आवेदकहरूको रकम भने भोलि वैशाख ७ गतेदेखि सम्बन्धित बैंक खातामा फिर्ता गरिने कम्पनीले जनाएको छ।











