मोबाईलबाट हुने आर्थिक कारोबार थप सहज बनाउने राष्ट्र बैंकको निर्णय, दैनिक एक लाखसम्म कारोबार गर्न पाइने

२९ भाद्र २०७८, मंगलवार १७:४४

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको सीमा बढाएको हो ।

राष्ट्र बैंकले मंगलबार एक निर्देशिका जारी गर्दै बैंक खाताबाट वालेटमा रकम पठाँउदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन एक लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ रकमान्तर गर्न सकिने गरी सीमा तोकेको छ । यसअघि राष्ट्र बैंकले मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको यस्तो सीमा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन एक लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँ थियो । यस्तै वालेटबाट बैंक खातामा पैसा पठाउदा समेत सोहि सीमा लागु हुने केन्द्रीय बैंकको भनाई छ ।

यसैगरी, एक वालेटबाट अर्को वालेटमा रकम पठाउँदाको सीमामा भने केन्द्रीय बैंकले कुनै परिवर्तन गरेको छैन । वालेटमार्फत अर्को वालेटमा पैसा पठाउदा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रति महिना ५ लाख रुपैयाँ सीमा तोकिएको छ । वालेटमा बढीमा ५० हजारसम्म ओभरनाइट मौज्दात राख्न पाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। यसअघि यस्तो सीमा २५ हजार मात्रै थियो ।

संस्थागत ग्राहक र एजेन्ट बाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिनेछ । त्यसैगरी बैंक तथा वित्तीय संस्था तथा कार्ड जारी गर्न अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरुले जारी गरेको एनएफसी कार्डमार्फत् प्रतिकारोबार अधिकतम ५ हजार रुपैयाँसम्मको विद्युतीय कारोबार गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*