एसवाई प्यानल नेपालको नाफा २ करोड ११ लाख, अधिकांश सूचकमा सुधार

काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य नाफा वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा २ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ लाख ६४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा गत वर्षको तुलनामा ४३२.६१ प्रतिशतले बढेको छ। अर्थात् कम्पनीले अघिल्लो वर्षको तुलनामा पाँच गुणाभन्दा बढी नाफा कमाएको देखिन्छ।
कम्पनीको आम्दानी बढ्नुका साथै सञ्चालन खर्चमा आएको कमीले नाफा वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २३.६२ प्रतिशतले वृद्धि भई १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १५ करोड ७० लाख रुपैयाँ रहेको थियो।
बिक्री आम्दानीमा भएको विस्तारसँगै कम्पनीको कुल मुनाफा ६ करोड २५ लाख रुपैयाँ पुगेको छ। यसैगरी, खर्च व्यवस्थापनमा सुधार गर्दै कम्पनीले प्रशासनिक खर्च उल्लेख्य रूपमा घटाएको छ। गत वर्षको पहिलो त्रैमासमा २ करोड ३० लाख रुपैयाँ रहेको प्रशासनिक खर्च चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ८१ लाख ५३ हजार रुपैयाँमा सीमित भएको छ।
त्यस्तै, बिक्री तथा वितरण खर्च पनि १ करोड २२ लाख रुपैयाँबाट घटेर ८६ लाख ४४ हजार रुपैयाँमा झरेको छ। आम्दानीमा वृद्धि र खर्चमा कटौती भएपछि कम्पनीको सञ्चालन मुनाफामा ठूलो सुधार देखिएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ३१ लाख ४२ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष बढेर २ करोड ६४ लाख ८८ हजार रुपैयाँ पुगेको छ।
कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिएको दीर्घकालीन र अल्पकालीन ऋण न्यून रहेकाले वित्तीय खर्च पनि निकै कम देखिएको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १४ हजार ४२६ रुपैयाँ मात्रै रहेको छ।
वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी १ अर्ब ३० करोड ८१ लाख रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा तथा कोषमा १७ करोड ३७ लाख रुपैयाँ सञ्चित छ। यससँगै कम्पनीको कुल इक्विटी १ अर्ब ४८ करोड १८ लाख रुपैयाँभन्दा बढी पुगेको छ।
नाफामा सुधार आएसँगै कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ रुपैयाँ २ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा ६ रुपैयाँ ४६ पैसा पुगेको छ।











