बैंकहरुमा पैसाको हाहाकार, ४८ घण्टामा बैंकहरु आफैले लिए १३ अर्ब सापटी, शेयरको मूल्य झनै घट्ने त्रास

१ आश्विन २०७८, शुक्रबार २३:२६

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पैसाको हाहाकार मच्चिएसँगै बैंकरहरु यतिबेला ठूलो तनावमा छन् । नेपाली बैंकिङ क्षेत्रले विगत तीन वर्षपछि पहिलो पटक अहिलेको तरलता जस्तो तरलता अभाव महसुस गरेको एक बैंकले बीमापोष्टलाई बताए ।

असोज महिनाको पहिलो दिनमा नै तीन अर्ब रुपैयाँ सापटी चलाएपछि बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको हाहाकार मच्चिएको पुष्टि भएको छ । पछिल्लो ४८ घण्टामा बैंक तथा वित्तीय संस्थाहरु १३ अर्ब रुपैयाँ भन्दा बढि सापटी चलाएको घट्नाले बैंक तथा वित्तीय संस्थामा कुन तहको तरलता अभाव छ भन्ने कुरा स्पष्ट पारेको छ ।

केन्द्रीय बैंकले तोकेको तीन प्रतिशतको तरलता कायम गर्न असोज १ गते तीन अर्बको सापटी प्रयोग गरेका बैंकहरुले बिहीबार सबैभन्दा चर्को १० अर्ब ९ करोड ७५ लाख रुपैयाँ सापटी चलाएका थिए । तरलता अभाव बढ्दै जाँदा बैंकहरुले अन्तर बैंक सापटीको ब्याजदर ४.९७ प्रतिशत पुगेको छ । नेपालमा भदौं लागेपछि तरलता अभाव चर्केको हो । चालु आवको दुई महिनामा बैंकहरुले कूल तीन खर्ब ५२ अर्ब २९ करोड रुपैयाँ सापटी लिएर आफ्नो कर्जा निक्षेप अनुपात सही हालतमा राख्न सफल भएका छन् ।

बैंकहरुमा पैसाको चर्को अभाव भएको ऋण प्रवाहलाई समेत कडाई गरेका छन् । ऋण प्रवाहमा गरिएको कडाईसँगै अब शेयर बजारमा प्रभाव पर्ने देखिएको छ । गत साता लगातार उच्च अंकले घटेको शेयर कारोबार आगामी दिनमा अझै घट्ने हो कि ? भन्ने त्रासमा लगानीकर्ता रहेका छन् । बैंकरहरुले शेयरधितोमा मात्रै नभई अन्य कुनै पनि प्रयोजनको लागि कर्जा दिन नसकिने बताउन थालेका छन् । शेयर धितोमा कर्जा प्रभावित भएमा हाल २८०० को बिन्दुमा रहेको शेयर बजार अझै प्रभावित भएर तल झर्ने निश्चित रहेको जानकारहरु बताउँछन् ।

उता, सरकारी नीतिका कारण शेयर बजार प्रभावित भएको भन्दै केही लगानीकर्ताहरु आमरण अनसनमा बसिरहेकै बेला देशको बैंकिङ सिष्टममै समस्या आएपछि शेयर बजार अझै प्रभावित हुने सम्भावना बढेको छ । यसले सरकार र लगानीकर्ताबीचको सम्बन्ध थप बिग्रने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*