सेन्चुरी बैंकमा एक करोड घोटाला काण्डः अन्तरिम आदेश जारी भएन, मुद्दा जारी

२९ मंसिर २०७८, बुधबार १९:२७

काठमाडौं । सेन्चुरी बैंकमा भएको एक करोड ऋण घोटाला काण्डमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । यद्यपि सेन्चुरी बैंक र ग्रिनहिल सिटीका विरुद्धमा भने मुद्दा जारी रहेको छ । आजको लागि तोकिएको पेशीमा सक्कल फाइल नै पेश नगरेपछि इजलाशले अन्तरिम आदेश जारी नगरी मुद्दा अघि बढाउने निर्णय गरेको हो ।

न्यायाधिशहरु श्रीमण कुमार गौतम र कुल प्रसाद शर्माको संयुक्त इजलाशमा सेन्चुरी बैंकले मुद्दाको फाइल नलिई उपस्थित भएको थियो । त्यसैगरी, नेपाल राष्ट्र बैंकले समेत सो काण्डको छानविन प्रतिवेदनको सक्कल फाइलसहित उपस्थित हुन भनिएकोमा फाइल नै नलिई गएका थिए । नेपाल राष्ट्र बैंक इतिहासमा पहिलो पटक आफ्ना सेवाग्राहीको गुनासो नसुनेको आरोपमा अदालतमा मुद्दा खेपिरहेको छ । सो मुद्दा अझै जारी रहनेछ ।

सामाजिक अभियान्ता दीपेन्द्र कँडेलले श्रीमती शान्ता शर्माको नाममा ग्रिनहिल सिटीको इमाडोलस्थित हाउजिङमा किनेको घरका लागि एक करोड तीन लाख रुपैयाँ नगद दिई बैना गरेको र बाँकी रहेको रकम सेन्चुरी बैंकले ऋण उपलब्ध गराउने शर्त बमोजिम एक करोड रुपैयाँ ग्रिनहिल सिटीको नाममा निकासा गरेको जनाएको थियो । सो ऋण बापत कँडेलको परिवारले करिब तीन वर्ष सावा ब्याज किस्ता भुक्तानी गरेपछि घर बिक्री गर्ने हाउजिङ कम्पनीले बैंकबाट ऋण नै नपाएको भन्दै पत्राचार गरेको थियो । एकातिर ऋणीले साँवा ब्याज तिर्ने र अर्कोतिर ऋण लगेको भनिएको पक्षले ऋण नै नपाएको भन्दै पत्राचार गरेपछि सो काण्ड अब थप जटिल बनेको छ । यद्यपि सो घोटाला काण्डमा संलग्न व्यक्तिहरुले उन्मुक्ति नपाउने बरु कानुनी कारवाहीको दायरामा बाधिने निश्चित छ ।

अब उक्त मुद्दामा बाटोको म्याद बाहेक मुद्दा दर्ता भएको मंसिर १६ गतेको मितिले १५ दिनभित्र सेन्चुरी बैंक तथा ग्रिनहिल सिटी लिखित जवाफसहित उपस्थित हुनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*