राष्ट्र बैकको चालूपुँजी कर्जाको सीमा निर्धारण सम्बन्धी मागनिर्देशनको मस्यौदा तयार, सुझाव पेश गर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैकले १ करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालूपुँजी कर्जाको सीमा निर्धारण सम्बन्धी मागनिर्देशन ल्याएको छ । राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैकले फर्म, संस्था र कम्पनीलाई एक वा एक भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कूल एक करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा वार्षिक अनुमानित कारोबार र बिक्रीको अधिकतम २० प्रतिशत कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाले १ करोड रुपैयाँसम्मको चालु पुँजी कर्जा प्रवाह गर्दा ऋणीको ग्राहक स्वयंबाट प्रमाणित मासिक विवरण राख्नु पर्नेछ भने १ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको चालू पुँजी कर्जाको हकमा ऋणी संस्थाको आन्तरिक लेखापरीक्षकबाट प्रमाणित मासिक विवरण हुनु पर्नेछ । राष्ट्र बैंकले उक्त निर्देशिका बमोजिम पाँच करोड रुपैयाँभन्दा बढी चालूपुँजी कर्जाको हकमा अर्धवार्षिक रुपमा स्वतन्त्र लेखापरीक्षकबाट प्रमाणित विवरण राख्नु पर्ने व्यवस्था समेत गरेको छ।
यसको लागि राष्ट्र बैंकले ३५ दिनभित्र रायसुझाव पेश गर्न आग्रह गरेको छ।