स्वावलम्बन लघुवित्तद्धारा एकैपटक ७ जना कर्मचारी बरखास्त

१८ माघ २०७८, मंगलवार १२:३८

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ जना कर्मचारी बरखास्त गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न शाखाका कर्मचारीलाई बरखास्त गरेको जनाएको हो ।

कम्पनीका केही कर्मचारीहरुले नियमसंगत तवरले लिखित रुपमा हस्तान्तरण समेत नगरी संस्थाको कर्मचारी सेवा विनियमावली २०६३ को विनिमय ५८ बमोजिम सम्बन्धित अधिकारीबाट रितपूर्वक बिदा समेत स्वीकृत नगराई आफु कार्यरत कार्यालयमा ३० दिन भन्दा बढी समयसम्म उपस्थित नहुँदा कम्पनीले उक्त कर्मचारीहरुलाई बरखास्त गरेको हो ।

कम्पनीको कर्मचारी सेवा विनियमावली २०६३ को विनिमय ९४ (१) बमोजिमको कसुर तथा खराब आचरण गरेको पाइएकाले सो संस्थाको गत मंसिर ९ गतेको निर्णयअनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उदय राज खतिवडाले सोही मितिदेखि लागू हुनेगरी वित्तीय संस्थाको सेवाबाट उक्त कर्मचारीहरुलाई हटाएका थिए ।

सो उपर चित्त नबुझी उक्त सात जना कर्मचारीले मंसिर १३ गते दिएको पुनरावेदन सम्बन्धमा कम्पनीको माघ १६ गते बसेको संचालक समितिको बैठकले यसअघि सिइओ खतिवडाले गरेको उक्त निर्णयलाई समर्थन गर्दै बरखास्त गरेको हो ।

कम्पनीले बरखास्त गरेको सात जना कर्मचारीहरुमा कीर्तिपुर शाखा काठमाडौंका वरिष्ठ सहायक दिपक चौधरी, केन्द्रीय कार्यालय कमलपोखरीका वरिष्ठ सहायक पूर्णचन्द्र राज अवस्थी, ओखलढुङ्गा शाखाका वरिष्ठ सहायक रामनन्दन मण्डल, पोखरीया पर्सा शाखाका वरिष्ठ सहायक हरिशंकर प्रसाद श्रीवास्तव, धनौरी दाङ शाखाका वरिष्ठ सहायक चित्र बहादुर बुढाथोकी, जीतपुर कपिलवस्तु शाखाका वरिष्ठ सहायक विनोद नेपाल र टीकापुर कैलाली शाखाका सहायक विराज बोगटी रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*