पशुपन्छी बीमा फर्जी भएको भन्दै अनुसन्धान

काठमाडौं । लमजुङमा पशुपन्छी बीमामा फर्जी भएको पाइएको छ । सरकारले पशुपन्छी बीमामा शतप्रतिशत छुट दिएसँगै सो जिल्लाका केही किसानहरुले पशुपालन नै नगरी फर्जी बीमा गरेर रकम भुक्तानीका लागि पशुसेवा कार्यालयमा दाबी गरेको पााइएको हो ।
संघीय सरकारबाट ८० प्रतिशत र गण्डकी प्रदेश सरकारबाट २० प्रतिशत प्रिमियम रकम उपलब्ध गराएसँगै जिल्लामा फर्जी बीमा गराएको पाइएको हो ।
उक्त जिल्लाका केही स्थानीय तहबाट पशुपंक्षी बीमा भुक्तानी दाबीका लागि आएको निवेदन अस्वभाविक लागेपछि स्थलगत अनुसन्धान गर्दा बीमा फर्जी भएको देखिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा.रुपेश श्रेष्ठका अनुसार ३५ वटा भैंसी र ५० वटा बाख्रा बीमा गरी २५ प्रतिशतका दरले ४० हजार रुपैयाँ दाबी गरेका सुन्दरबजारका कृषक कृष्णमुरारी मिश्रको गोठमा दुईवटा भैंसि र दुईवटा मात्रै बाख्रा भेटिएको हो ।
कृषक मिश्रले सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत पशुपंक्षीको बीमा गराएका हुन् । सो कम्पनीले भने प्रत्येक पशुपन्छीमा ट्याग लगाएर मात्रै बीमा गरेको र उक्त ट्याग लगाइएका पशुपन्छी पछि बिक्री गरेको हुन सक्ने बताएको छ ।
संघ सरकारले उपलब्ध गराउने ८० प्रतिशत रकम सम्बन्धी बीमा कम्पनीले बुझ्ने गरेपनि प्रदेश सरकारले उपलब्ध गराउने रकम भने जिल्लास्थित पशुसेवा कार्यालयबाट कृषहरुले पाउने व्यवस्था रहेको छ । बीमा गर्ने कृषकहरुले २० प्रतिशत रकम बीमा कम्पनीलाई तिर्ने र सोही आधारमा जिल्ला कार्यालयमा रकम भुक्तानी दाबी गर्ने प्रावधान रहेको छ ।
व्यवसायिक रुपमा पशुपालन गरेको कृषकहरुले सरल वा न्यून ब्याजदरमा बैंक ऋण लिनका लागि पशु संख्या देखाउनुपर्ने र तिनको बीमा अनिवार्य हुनुपर्ने भएपछि फर्जी बीमा गर्ने गरेको अनुसन्धानमा पाइएको हो ।
आर्थिक वर्ष २०७८०७९ देखि व्यवसायिक रुपमा पशुपालन गरेका कृषकहरुका लागि संघ सरकारले ८० प्रतिशत बीमा पिमियम उपलब्ध गराउने निर्णय भएकोमा गण्डकी प्रदेश सरकारले भने गत वर्षदेखि नै पशुपंक्षी बीमाका लागि २५ प्रतिशत प्रिमियम शुल्क उपलब्ध गराउने निर्णय गरेपनि संघ सरकारले ८० प्रतिशत रकम दिने भएपछि प्रदेश सरकारले २० प्रतिशत रकम उपलब्ध गराएको छ ।











