खराब कर्जा घटेसँगै आँधिखोला लघुवित्तको नाफा १९ प्रतिशतले बृद्धि, रिजर्भको आकार ३७% बढयो
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा सुधार देखिएको हो ।
यस अवधिसम्म लघुवित्तको नाफा १९.८६ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिसम्म लघुवित्तले २ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफा दुवै बढ्न पुगेको छ । सो कारण लघुवित्तको नाफामा सुधार देखिएको हो । खुद ब्याज आम्दानी ७.७४ प्रतिशतले बढेर ५ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने संचालन नाफा १८.३१ प्रतिशतले बढेर ४ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
चालु आवको चैत मसान्तसम्ममा लघुवित्तको चुक्तापुँजी १० करोड रुपैयाँ रहेकोमा संस्थाले रिजर्भको आकार ३६.९५ प्रतिशतले बढाएर ९ करोड ५५ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।
त्यस्तै, यस अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट ६९ करोड ४५ लाख रुपैयाँ सापटी लिई १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, ४५ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
संस्थाको यस अवधिसम्म वार्षिकी प्रतिशेयर आम्दानी ४६.४४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५.५५ रुपैयाँ रहेको छ । यस अवधिसम्म संस्थाको खराब कर्जा घटेर ३.४६% पुगेको छ । गत आव यस्तो कर्जा ४.३९% रहेको थियो ।