संचालन मुनाफामा गिरावट आउँदा गणपति लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी १९% बृद्धि
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार संस्थाको नाफामा गिरावट आएको छ ।
चालु आवको चैत मसान्तसम्ममा संस्थाले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ४८.३५ प्रतिशतले कम हो । गत आवको तुलनामा संस्थाले २ करोड ५४ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म संस्थाको खराब कर्जा बढेको छ भने खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि गिरावट आएको छ । सो कारण संस्थाको नाफा घट्न पुगेको हो । गत आवको चैत मसान्तसम्म ०.६६% मात्रै रहेको खराब कर्जा यस अवधिसम्म बढेर २.०३% पुगेको छ ।
त्यस्तै, खुद ब्याज आम्दानी पनि २.६२% ले घटेर ९ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, संचालन मुनाफा पनि ६८.५४ प्रतिशतले घटेर ६८ लाख ५४ हजार रुपैयाँमा सीमित हुन पुगेको छ ।
यस अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ४८ करोड २७ लाख रुपैयाँ सापटी लिएर २ अर्ब १९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, ५५ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ ।
यस अवधिसम्म संस्थाको चुक्तापुँजी १९ प्रतिशतले बढेर १५ करोड १५ लाख रुपैयाँ पुगेकोमा संस्थाले रिजर्भको आकार ६.४४% बढाएर ४ करोड २४ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।
समिक्षा अवधिसम्म संस्थाको वार्षिकी प्रतिशेयर आम्दानीमा पनि उच्च गिरावट आएको छ । १५ रुपैयाँ ९ पैसाले घटेर इपिएस ११ रुपैयाँ ५७ पैसामा कायम भएको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँमा सीमित भएको छ ।