चिलिमे हाइड्रोपावरको नाफा सवा ५२ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । चिलिमे हाइड्रोवारले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफामा सामान्य सुधार देखिएको हो ।
यसअवधिमा खुद नाफा १.२३% ले बढेर ५२ करोड २० लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ५१ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, कम्पनीको विद्युत् बिक्रीबाट हुने पनि बढेको छ ।
नेपाल विद्युत् प्राधिकारणले आवश्यकता अनुसार अधिक विद्युत् उर्जा खरिद गरेकोले यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी बढ्न गएको कम्पनीले जनाएको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १.७५% ले बढेर ८२ करोड ३४ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले विद्युत् बिक्रीबाट ८० करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यता, कम्पनीको सञ्चालन आम्दानी भने घटेको छ । गत वर्ष ५५ करोड १८ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी यो वर्ष घटेर ५४ करोड ३२ लाख रुपैयाँमा झरेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ २१ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ३४ पैसा छ ।