रिभर फल्सले भोलिदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्दै
![](https://www.beemapost.com/wp-content/uploads/2022/05/River-falls-IPO.jpg)
काठमाडौं । रिभर फल्स पावरले भोलि (वैशाख २८) गतेदेखि सर्वसाधारणहरुका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधराणका लागि आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले भोलिदेखि २७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । रिभर फल्सले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये ५% अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामुहीक लगानी कोष र २% अर्थात् ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी २५ लाख ३८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रिभर फल्सको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।