हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजार ५६ अंकले बढेको छ । यससाता क्रमशः शेयरबजारमा एकाएक बृद्धि भएको छ ।
बैंकर्स संघले जेठ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने विषयले पनि शेयरबजार बढ्न पुगेको देखिएको हो ।
आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँको कारोबार भएको छ । पछिल्लो समयका केही दिनयता एक अर्बभन्दा माथि कारोबार रकम उक्लिन नसक्दा आज नेप्से बढेसँगै कारोबार पनि केही बढेको छ ।
विभिन्न कम्पनीहरुको शेयरमूल्य बढेसँगै आज लगानीकर्ताहरुले शेयर बेच्न थालेको देखिएको छ । आज २ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको आज एकैदिन १० करोड ५९ लाख ७४ हजार ९० रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, ङादी ग्रुप पावरको ८ करोड ७३ लाख रुपैयाँ, राधी विद्युत कम्पनीको ७ करोड ६२ लाख, शिवम् सिमेन्ट्सको ६ करोड ७५ लाख र नेशनल हाइड्रोपावरको ५ करोड ८० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।