धितोपत्र बजार पुँजीकरण ३४ खर्ब नाघ्यो, बैंक वित्त र बीमा कम्पनीको हिस्सा ६७%
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण ३४ खर्ब २६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको ९ महिनासम्मको आर्थिक अवस्था र वित्तीय स्थितिको तथ्याङ्कअनुसार धितोपत्र पुँजीकरण घट्न पुगेको हो ।
गत आवको यसै अवधिसम्म धितोपत्र पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलता अभावको कारणले पनि धितोपत्र बजारको पुँजी घट्न पुगेको देखिएको हो ।
२०७८ सालको साउन भदौ महिनामा २१ अर्बसम्मको कारोबार भएतापनि त्यसयताका महिनाहरुमा लगातार शेयरबजारमा कारोबार खुम्चिँदै गएको थियो । पछिल्लो केही महिनामा कारोबार २।३ अर्बमा सीमित हुन पुगेको थियो । यसकारण पनि२०७८ साल चैत मसान्तसम्म धितोपत्र पुँजीकरण घट्न पुगेको हो ।
त्यस्तै, २०७७ चैत मसान्तसम्ममा २७१४.८ नेप्से इन्डेक्स २०७८ साल चैत मसान्तसम्म घटेर २४१५.३ इन्डेक्समा पुगेको थियो ।
त्यस्तै, २०७८ चैत मसान्तसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको संख्या २२९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ वटा जलविद्यूत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समुहका रहेका छन् । २०७७ चैतमा सूचीकृत कम्पनीको संख्या २१८ रहेको थियो ।
साथै यस अवधिसम्म सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितो बजार पुँजीकरणको हिस्सा ६७.६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०ं.२ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ प्रतिशत, होटलको हिस्सा १ं.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेकोछ ।
नेप्सेमा २०७८ चैत सम्ममा सूचीकृत ६ अर्ब ६८ करोड शेयरको चुक्तामूल्य ६ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
साथै चालु आवको नौ महिना अवधिसम्ममा ५४ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ४९ अर्ब १६ करोड बराबरको डिबेञ्चर, ४७ अर्ब ९६ करोड रुपैयाँ बराबरको बोनस शेयर, १८ अर्ब ९ करोड रुपैयाँ बराबरको साधारण शेयर, ९ अर्ब ३१ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल १ खर्ब ८२ अर्ब ७६ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् ।
यस अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेञ्चर, ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको साधारण शेयर, ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ अर्ब बराबरको म्युचुअल फण्डगरी कुल १५ अर्ब ५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।