चारदिन पछि खुलेको शेयरबजारमा उच्च गिरावट, नेप्से ८४ अंकले घट्दा १३ उपसूचक राताम्य
काठमाडौं । चारदिन पछि खुलेको शेयरबजार उच्च अंकले गिरावट आएको छ । स्थानीय तहको निर्वाचन हुनुभन्दा अघि लगातार हरियाली छाएको शेयरबजार निर्वाचन सकिएपछि आज नेप्से ८४.९० अंकले घट्न पुगेको छ ।
वैशाख ३० गतेदेखि बन्द भएको नेप्से आज जेठ ३ गते मंगलबार खुलेको केही समयमा झिनो अंकले घटेतापनि कारोबार बन्द हुँदासम्म ३.६१ प्रतिशतले घटेर २२६५.५२ विन्दुमा कायम हुन पुगेको हो ।
नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९५ हजार ५६८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड ४० लाख ५० हजार २३९ रुपैयाँको कारोबार भएको छ । जेठ महिनादेखि बैंकहरुको ब्याजदर नबढाउने कुराले निर्वाचन अघि बढेको शेयरबजार आज उच्च अंकले घट्न पुगेको हो ।
निर्वाचन पछि शेयरबजार बढ्ने प्रक्षेपण गरिएपछि आज निर्वाचन पछिको पहिलो कारोबार दिनमा नै यति ठूलो अंकको गिराव आउँदा लगानीकर्ताहरुमा थप नैराश्यता थपिएको छ । केही शेयर विज्ञहरुले स्थानीय तहको निर्वाचन पछि शेयरबजार बढ्ने दाबी समेत गरेका थिए ।
आज नेप्सेमा रहेको सबै सूचक नै राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा कम्पनीहरुको शेयर खस्किएको छ । आज जीवन बीमा समुहको ५९२ रुपैयाँ ५९ पैसाले घटेको छ भने निर्जिबन बीमा समुहको ४८५ रुपैयाँ ८१ पैसाले घटेको छ । जीवन बीमा कम्पनीहरु धमाधम मर्जरमा जान लागेसँगै पनि शेयरमा उच्च प्रभाव पर्न गएको देखिएको छ ।