बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश, स्वास्थ्य बीमालाई सुधार गर्ने अर्थमन्त्रीको प्रतिवद्धता
काठमाडौं । बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश भएको छ। आज अर्थमन्त्री जनार्दन शर्माले यो पेश गरेका हुन्।बजेटको सिद्धान्त र प्राथमिकता अर्थ मन्त्रालयले चुनावअघि नै तयार गरेको थियो। विधेयक पेश गर्दै मन्त्री शर्माले अर्थतन्त्र लयमा फर्किएको बताएका छन्।
मंगलबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्षको विनियोजित बजेटको सिद्धान्त तथा प्राथमिकता पेश गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावित विधेयकमाथि जेठ ४ र ५ गते छलफल हुने जानकारी दिए ।
अर्थमन्त्री शर्माले आगामी बजेटले शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारको क्षेत्रमा विशेष प्राथमिकता दिनुका साथै करमुखी अर्थतन्त्रलाई परिवर्तन गर्दै मुलुकलाई उत्पादनमुखी अर्थतन्त्रमा लाने बजेटको सिद्धान्त तथा प्राथमिकता रहेको प्रस्ताव पेश गरेका थिए ।
उनले अर्थ मन्त्रालयले स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउने बताएका छन् ।उनले संसदमा स्वास्थ्य प्रणाली र जनशक्ति विकास गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गरी थप प्रभावकारी बनाउने उल्लेख गरे ।
उनले भने, ’आन्तरिक उत्पादन घट्दै जानु र आयात बढ्दै जानु वर्तमान अर्थतन्त्रको चुनौति हो। अबको बजेट आयात घटाउनमा केन्द्रित हुनेछ।’ साथै, आगामी आर्थिक वर्षको बजेट समाजवाद उन्मुख र आर्थिक रुपान्तरणका लागि हुने पनि मन्त्री शर्माको भनाई रहेको छ।
बजेटको सिद्धान्तमा स्थानीय पूर्वाधार निर्माणका लागि अधिक बजेट खर्चिने उल्लेख छ। कुल राजस्वमा आन्तरिक राजस्वको हिस्सा बढाउँदै लैजाने पनि शर्माले उल्लेख गरे।समाजवादको आधारमा अर्थतन्त्र तयार पार्न सरकारको योजन रहेको उनको भनाई छ ।