दोहोरो अंकले घट्यो नेप्से, १२ सूचक राताम्य हुँदा १ अर्बमा खुम्चियो कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले उकालो लागेको नेप्से इन्डेक्स आज २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा सीमित हुन पुगेको छ ।
स्थानीय तहको निर्वाचन सकिएपछि नेपाली शेयर बजार उकालो लाग्ने आँकलन गरिएतापनि निर्वाचन पछिको शेयरबजारमा सुधार आउन सकेन । केही शेयर विशेषज्ञहरुले नेप्से इन्डेक्स ५ हजारको विन्दुमा पुग्ने प्रक्षेपण समेत गरेका थिए । तर निर्वाचनयता नेप्से झनै घटेर २२ सयको विन्दुमा सीमित हुन पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँको कारोबार भएको छ । नेप्से घटेसँगै शेयरको मात्रा र रकम समेत घट्न पुगेको छ ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज म्युचुअल फण्ड समूह बाहेकका सबै सूचक राताम्य भएका छन् । म्युचुलअ फण्ड समुह आज ०.११ रुपैयाँले बढेको छ भने सर्वाधिक जीवन बीमा समुहको १७२.२८ रुपैयाँ र निर्जिबन बीमा समुहको १४३.०५ रुपैयाँले घटेको छ ।