२३ अंकले घटेको शेयरबजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार २४ अंकले ओरालो लागेको छ । स्थानीय तहको निर्वाचन सकिने वित्तीकै शेयरबजार बढ्ने प्रक्षेपण गरिएतापनि निर्वाचन यताका दिनमा शेयरबजार झनै प्रभावित बन्दै गइरहेको छ ।
अघिल्लो दिन झिनो अंकले शेयरबजार बढेपनि कारोबार खासै सन्तोषजनक रहेको थिएन । धितोपत्र दोस्रो बजारमा लगानीकर्ताको संख्या क्रमिक रुपमा थपिँदै गएपनि कारोबार २ अर्बभन्दा माथि उक्लिन सकेको छैन ।
आज नेप्सेमा सूचीकृत २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँको कारोबार भएको छ । नेप्से घटेसँगै शेयरको मात्रा र रकम समेत घट्न पुगेको छ ।
चुनाव सकिएर लगानीकर्ताहरुको उत्साह बढ्ने आकलन गरेपनि शेयरबजारमा देखिएको कारोबार रकमले लगानीकर्ताहरु सक्रिय रुपमा शेयर कारोबार नगरेको देखिएको छ । कारोबार खुम्चिए पनि केही कम्पनीहरुको भने आज उल्लेख्य खरिदबिक्री भएको छ ।
आज एक अर्बको कारोबार हुँदा सर्वाधिक प्रभु प्रोमोटरको भएको छ । सो कम्पनीको १२ करोड ८१ लाख ७९ हजार ९६२ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया लघुवित्तको ५ करोड ७ लाख, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९० लाख, अरुण काबेली पावरको ३ करोड १२ लाख र हिमालयन डिस्टिलरीको २ करोड ९६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।