पहिलो शुक्रबार कारोबारमा यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
काठमाडौं । नेप्सेले दुई दिन सार्वजनिक विदालाई मध्यनजर गर्दै लगानीकर्ताको हितका लागि शुक्रबार पनि बजार खुल्ला गरेको छ । सोअनुसार आज शेयरबजार खुल्ला रहँदा नेप्से इन्डेक्स १५ अंकले घटेर २२३५ विन्दुमा झरेको छ ।
जेठदेखि लागू भएको दुई सार्वजनिक विदामा नेप्सेले शुक्रबार पनि कारोबार संचालन हुने निर्णय गरेको हो । सोअनुसार आज बजार खुल्दा एक अर्बको पनि कारोबार हुन सकेन । शुक्रबार पनि शेयरबजार खुल्ला रहने विषय धेरै नयाँ लगानीकर्तालाई पनि थाहा नहुन सक्छ । यसैको कारण पनि आज जम्मा सूचीकृत २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता शेयर किनबेच हुँदा ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँको कारोबार भएको छ ।
पहिलो शुक्रबारको मार्केट इन्डेप्थअनुसार शेयरबजारमा सो रकमबराबरको कारोबार हुँदा अरुण काबेली पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३ करोड २ लाख ४५ हजार ५०७ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको २ करोड ८४ लाख रुपैयाँ, साँग्रिला डेभलपमेन्ट बैंकको प्रोमोटर शेयरको २ करोड ७६ लाख, नेपाल पुर्नबीमा कम्पनीको २ करोड ६९ लाख र अपि पावरको २ करोड ६७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
शुक्रबार समग्रमा शेयरबजारमा खासै उत्साहपन देखिएन । मार्केट घटेपनि लगानी गर्न लगानीकर्ताले शेयर किनेको देखिएको छैन । स्थानीय तहको निर्वाचनको मतगणना क्रम जारी भएको कारण पनि धेरै लगानीकर्ताहरु त्यतैतिर केन्द्रित भएको देखिन्छ ।