नबिल बैंकमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेसँगै धितोपत्र बोर्डले समेत आइतबार शेयरबजार बन्द गर्ने निर्णय गरेको छ । सोही अनुसार आइतबार शेयरबजार बन्द रह्यो ।
सातामा ५ दिन मात्रै शेयर कारोबार हुने गरेकोमा आइतबार शेयरबजार बन्द हुने भएसँगै लगानीकर्ताको माग अनुसार शुक्रबार शेयरबजार खोल्ने निर्णय गरेको हो ।
शुक्रबार नेप्से परिसूचक १५ अंकले घटेर बन्द हुन पुगेको थियो । सोही दिन जम्मा ९३ करोडको मात्रै कारोबार भएको थियो ।
पछिल्लो केही महिनायता धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुको संख्या थपिँदै गएपनि शेयरबजारमा कारोबार खासै उकालो लाग्न सकेको छैन । लगानीकर्ताहरुले आफुसँग भएको शेयर पनि ‘होल्ड’ गरेर राखेको देखिन्छ ।
साथै बैंकहरुमा सिडि रेसियो घट्दै गएको कारण पनि यसको प्रभाव शेयरबजारमा देखिन थालेको हो । आज पनि शेयरबजार ३४ अंकले घटेर जम्मा १ अर्ब रुपैयाँको मात्रै कारोबार भएको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँको कारोबार भएको हो ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नबिल बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ४ करोड १५ लाख ९ हजार २६५ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ८७ लाख, नेपाल इन्स्योरेन्सको ३ करोड ८५ लाख, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ३ करोड ६४ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ५३ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।