हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, हरियाली छाएको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपछि लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । मंगलबार शेयरबजार खुलेको ओपनिङ सेसनमा झिनो अंकले सूचक घटेतापनि कारोबार बन्द हुँदासम्म १६ अंकले शेयरबजार बढ्न पुगेको छ ।
सोमबार नेप्से इन्डेक्स घटेर २२ सयको विन्दुमा पुगेको थियो । आज केही हदसम्म बढेर २२१७.१९ को विन्दु कायम गर्न सफल भएको छ । नेप्सेमा झिनो बढोत्तरी देखिएतापनि शेयरको मात्रा र कारोबार रकममा भने खासै उत्साह देखिएको छैन ।
गत वर्षको साउन महिनामा २१ अर्बसम्मको कारोबार हुने शेयरबजारमा केही ८।१० महिनायता खासै कारोबार माथि उक्लिन सकेको छैन । आज पनि शेयरबजारमा १ अर्बमाथिको मात्रै कारोबार भएको छ । ५।६ महिनायता कारोबार २।३ अर्बमा सीमित हुन पुगेको छ ।
लगानीकर्ताको संख्या उल्लेख्य रुपमा थपिएतापनि शेयरबजारमा कारोबार रकम हेर्दा लगानीकर्ताहरु लगानी गर्न समेत डराईरहेको देखिएको छ ।
पछिल्लो समय बैैकिङ्ग क्षेत्रमा देखिएको तरलता अभाव वा सिडि रेसियो घट्दै जानुले पनि लगानीकर्ताहरु बैंक वित्तीय संस्थाको शेयर किन्न त्रसित भइरहेका छन् । आज नेप्सेमा सूचीकृत २२४ कम्पनीको ३१ लाख ७३० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४१ रुपैयाँको कारोबार भएको छ ।
एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक एनआइसी एशिया लघुवित्तको प्रोमोटर शेयरको खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ४ करोड ८४ दाख ८० हजार ६०० रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अपर तामाकोशी हाइड्रोपावरको ४ करोड ६३ लाख रुपैयाँ, अरुण काबेली पावरको ४ करोड ४९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावकरो ३ करोड ८१ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड २ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ । समग्रमा हेर्दा आज सर्वाधिक लगानीकर्ताहरुले हाइड्रोपावर कम्पनीहरुको शेयर खरिदबिक्री गरेका छन् ।