एनआइसी एशिया बैंकको डिसिईओमा सन्तोष कुमार राठी नियुक्त, साउन १ गतेदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । कम्पनीको जेष्ठ ८ मा बसेको सञ्चालक समितिको ५४५ औं बैंठकले राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका राठीलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६।०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्था बमोजिम बैंकको सञ्चालक समितिले आगामी साउन १ गते देखिलागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
२०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिएका सन्तोष कुमार राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका उनलाई अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रुपान्तरणमा पुर्याएका अतुलनीय योगदानको कदर एवं उच्च मूल्याङ्कन गर्दै बैंकले उनलाई नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो ।
नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।