हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको शेयरबजार आज १४.३७ अंकले बढ्न पुगेको छ ।
दुई दिन यता शेयरबजारमा सुधार देखिएसँगै लगानीकर्ताहरुमा थप उत्साह देखिएको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम अन्तर्गत पुँजीबजारको विकास र धितोपत्र बोर्ड र नेप्से क्षमतामा अभिबृद्धि गरिने घोषणा भएसँगै पनि लगानीकर्ताहरुमा केही उत्साह थपिएको हो ।
आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँको कारोबार भएको छ । नेप्से इन्डेक्स बढेतापनि शेयरबजारमा कारोबार रकम भने खासै बढ्न सकेको छैन । लगानीकर्ताहरुले आफुसँग भएको शेयर पनि ‘होल्ड’ गरेर राखेको देखिएको छ ।
शेयर विशेषज्ञहरुले यो समय शेयर किन्ने हो भनेतापनि लगानीकर्ताहरुमा पछिल्लो समय शेयर बजार घट्दै गएको अवस्था र बजेट घोषणासम्म लगानी गर्न कुरिरहेको देखिन्छ ।
आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अपर तामाकोशीको भएको छ । कम्पनीको आज एकैदिन ८ करोड ३४ लाख ८ हजार ७४७ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अरुण काबेली हाइड्रोपावरको ४ करोड ७१ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ४४ लाख, अरुण भ्याली हाइड्रोपावरको २ करोड ८८ लाख र अपि पावरको २ करोड ५६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
आज धेरैजसो हाइड्रोपावर कम्पनीहरुको शेयर खरिदबिक्री भएका छन् ।