१४ अंकले बढ्यो नेप्से, सबै उपसूचकमा हरियाली छाउँदा निर्जिबन बीमा समुह चम्कियो
काठमाडौं । साताको चौथो दिन शेयरबजार दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १६ अंकले बढेको नेप्से परिसूचक आज १४.३७ अंकले बढेर २२३१.५७ विन्दुमा कायम भएको छ । चुनाव सकिएपश्चात लगातार घट्दै आएको शेयरबजार अघिल्लो दिन र आज बढ्न पुगेको हो ।
दुई दिन यता शेयरबजारमा सुधार देखिएसँगै लगानीकर्ताहरुमा थप उत्साह देखिएको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम अन्तर्गत पुँजीबजारको विकास र धितोपत्र बोर्ड र नेप्से क्षमतामा अभिबृद्धि गरिने घोषणा भएसँगै पनि लगानीकर्ताहरुमा केही उत्साह थपिएको हो ।
आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । सर्वाधिक निर्जिबन बीमा समुहको १३४.५१ रुपैयाँले बढ्न पुगेको छ । त्यस्तै जीवन बीमा समुहको ६६.५१ रुपैयाँ र व्यापार समुहको २९.२१ रुपैयाँले बढ्न पुगेको छ ।