सर्किट लागेसँगै मेगा बैंकको शेयर सर्वाधिक खरिदबिक्री, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । बिहिबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । चुनावयता लगातार घटेको शेयरबजारमा दुई दिनयता सुधार देखिएको हो ।
शेयरबजारमा सुधार देखिएपनि कारोबार भने खासै माथि उक्लिन सकेको छैन । चालु आर्थिक वर्षको सुरुवातमा शेयरबजारमा उत्साह देखिएतापनि चालु आवको अन्तिमतिर शेयरबजार घटेसँगै कारोबार पनि लगातार तल झर्दै गयो ।
दुई वर्षयता धितोपत्र बजारमा धेरै कम्पनीहरु सूचीकृत भए लगातीकर्ताहरुको संख्या पनि थपिँदै गए तर पछिल्लो समय देशमा बढ्दै गइरहेको आर्थिक संकट तथा बैंक वित्तीय संस्थाहरुमा तरलता अभाव र सिडि रेसियोको प्रभावले शेयरबजार प्रभावित बन्न पुगेको हो ।
आज नेप्से परिसूचक ८ अंकले बढ्दा सूचीकृत २२२ कम्पनीको २३ लाख २० हजार ८१६ कित्ता शेयर किनबेच हुँदा ८८ करोड ८७ लाख ८१ हजार ९०७ रुपैयाँको कारोबार भएको छ ।
आज शेयरबजारमा एक अर्बको कारोबार पनि हुन सकेन । सो रकम बराबरको शेयर कारोबार हुँदा सर्वाधिक मेगा बैंक नेपाल लिमिटेडको भएको छ । कम्पनीको शेयरमूल्यमा आज सर्किट लागेसँगै लगानीकर्ताहरुले शेयर धमाधम बेच्न लागेका हुन् । बैंकको आज एकैदिन ५ करोड ४२ लाख १४ हजार ४६२ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, अरुण काबेली पावरको ४ करोड ४ लाख, नबिल बैंकको ३ करोड ५७ लाख, अपर तामाकोशीको २ करोड ८३ लाख र जाल्पा सामुदायिक लघुवित्तको २ करोड २९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।