राष्ट्र बैंकको नवनियुक्त संचालक सिवाकोटी र आचार्यद्धारा का.मु. प्रधानन्यायधीश समक्ष सपथ ग्रहण

१२ जेष्ठ २०७९, बिहीबार १८:१६

काठमाडौं । नेपाल राष्ट्र बैंक संचालक समितिका नवनियुक्त सदस्य चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहिबार कायम मुकायम प्रधानन्यायधीस दीपककुमार कार्कीसमक्ष दुवैले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

सर्वोच्च अदातलमा आज आयोजित एक कार्यक्रमकाबीच का.मु प्रधानन्यायधीस काकीले सिवाकोटी र आचार्यलाई शपथ ग्रहण गराएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ (१) मा बैंकमा संचालकले सर्वोच्च अदालतको प्रधानन्यायधीस वा निजले तोकेको न्यायाधीससमक्ष सपथ लिनुपर्ने व्यवस्था रहेको छ ।

नेपाल सरकार, मन्त्रिपरिषदको जेठ ६ को निर्णयअनुसार सिवाकोटी र आचार्य बैंक संचालक समितिको सदस्यमा नियुक्त भएका थिए । सिवाकोटी बैंकका पूर्व डेपुटी गभर्नर र आचार्य पूर्व कार्यकारी निर्देशक हुन्।

सिवाकोटीले त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकास्थित साउथर्न न्यू ह्याम्सायर विश्वविद्यालयबाट व्यवस्थापनमा स्नाकोत्तर र आचार्यले युनिभर्सिटी अफ नर्थ बङ्गाल, भारतबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् ।

ऐनको दफा १७ मा आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रिपरिषदले बैंकको संचालकमा नियुक्त गर्ने प्राबधान छ । संचालकको कार्यकाल पाँच वर्ष हुने व्यवस्था रहेको छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेल, सह रजिष्ट्रार विमल पौडेल र नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवं संचालक समितिका सचिव मुक्तिनाथ सापकोटा र निर्देशक थानेश्वर आचार्यलगायतका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*