नेपाल पुनर्बीमा कम्पनीका कर्मचारीले १५ लाख रुपैंयाँ सम्म कर्जा पाउने

१३ जेष्ठ २०७९, शुक्रबार १६:५५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका हुन ।

सम्झौता भएपश्चात दुई वर्ष सेवा अवधि पूरा गरेका पुनर्बीमा कम्पनीका कर्मचारीहरुलाई पुनर्बीमाको सिफारिसमा अधिकतम १५ लाख रुपैंयाँ सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।

बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ६.९७ प्रतिशत रहेको छ ।
सम्झौता अनुसार पुनर्बीमा कम्पनीको कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित भई पुनर्बीमाका कर्मचारीहरुको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्झौताले दुई सरकारी संस्थाको व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए । पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले दुई संस्थाबिचको सम्बन्धलाई व्यवहारीक र बस्तुपरक बनाउदै लैजाने बताए ।

कार्यक्रममा बैंकका विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, पुनर्बीमा कम्पनीका बरिष्ठ प्रबन्धक रन्जना थकुलवट, प्रबन्धक सरोज कोइराला, थापाथली शाखाका शाखा प्रबन्धक बिक्रममान श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*