मौद्रिक नीतिमा शेयर बजारका लगानीकर्ताहरूको गुनासो सम्बोधन गर्नेछौ: अर्थमन्त्री शर्मा

२५ जेष्ठ २०७९, बुधबार १३:३२

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा शेयर बजारका लगानीकर्ताहरूको गुनासो सम्बोधन गर्न जरुरी रहेको बताएका छन्। नेपाल धितोपत्र बोर्ड स्थापनाको ३० औँ वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले शेयर बजारको सुधारका कामहरु भईरहेको बताएका छन्।

आफू धितोपत्र बोर्डको स्वायत्तताको पक्षमा नै रहेको उनले बताए। ’जवाफदेही पनि हुनुपर्छ, आफ्नो क्षेत्रको स्वायत्तता सँगै जवाफदेहिता आवश्यक छ’ अर्थमन्त्री शर्माले भने।
पुँजी बजारलाई अन्तर्राष्ट्रियमैत्री प्रविधीसहितको बनाउन आवश्यक रहेकोले सोहीअनुसार सुधार गर्नेसमेत उनले बताए। धितोपत्रले बोर्डले गर्नुपर्ने धेरै काम रहेकोले छिटो तरिकाले प्रविधि भित्र्याउन आवश्यक रहेको समेत अर्थमन्त्री शर्माले बताए।

लगानीकर्ताको हित र संरक्षणमा सरकार लागिपर्ने बताउँदै दीर्घकालीन सुधारमा लाग्न समेत उनले आग्रह गरे। मौद्रिक नीतिमा आएका केही गुनासाहरु सुनेर त्यसको सुधार गर्नुपर्नेमा आफू जानकार रहेकोसमेत उनले बताए। मौद्रिक नीतिमा सुधारको पहल भइरहेको छ’ अर्थमन्त्री शर्माले भने।

वैदेशिक रोजगारमा गएका नेपालीलाई साधारण सेयर आईपीओमा १० प्रतिशतको कोटा कार्यान्वयन गर्ने र गैर आवसिय नेपालीहरुलाई दोस्रो बजारमा लगानीको अवसर दिनका लागि काम भइरहेको समेत उनले बताए। धितोपत्रसम्बन्धी ज्ञानको प्रचारमा कमी आउँदा समेत अज्ञानतामा लगानीकर्ताले समस्या भोग्नुपरेको उनले बताए।
मार्जिन ट्रेडिङको विषय तथा इन्साइडर ट्रेडिङको अन्त्य गर्न धितोपत्र बोर्ड लाग्नुपर्ने समेत उनले बताए। शेयर बजार बढ्ने घट्ने भइरहने भएकोले यसमा लगानीकर्ता सचेत हुनुपर्नेमा अर्थमन्त्री शर्माले जोड दिए।यसमा सबैमा समन्वय हुनुपर्नेमा आफ्नो जोड रहेको उनले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*