शेयरबजार पुँजीकरण ३३ खर्ब ४३ अर्ब रुपैयाँ पुग्यो, वैशाख मसान्तसम्म पौने २ खर्ब रुपैयाँको धितोपत्र सूचीकृत,

२७ जेष्ठ २०७९, शुक्रबार १६:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८।०७९ को दश महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार धितोपत्र बजार पुँजीकरण ३३४३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष २०७८ साल वैशाख मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण ३७२४ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको अन्तिमतिर बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता अभावको कारणले धितोपत्र बजार पुँजीकरण यस अवधिसम्म घट्न पुगेको हो ।

त्यस्तै, २०७८ वैशाख मसान्तसम्म २६८४.१ विन्दुमा रहेको नेप्से परिसूचक २०७९ वैशाख मसान्तसम्ममा २३५०.४ को विन्दुसम्म पुगेको छ । साथै नेप्सेमा यस अवधिसम्म सूचीकृत कम्पनीहरुको संख्या २२९ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु रहेका छन् भने ४८ हाइड्रोपावर, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७७ वैशाखमा सूचीकृत कम्पनीहरुको संख्या २२० रहेको थियो ।

सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको हिस्सा ६७६.४ प्रतिशत रहेको छ । त्यसैगरी हाइड्रोपावर कम्पनीहरुको पुँजीकरण हिस्सा १०.५ प्रतिशत, लगानीक कम्पनीको हिस्सा ७%, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४%, होटलको हिस्सा १.५%, व्यापारिक संस्थाको हिस्सा ०.४% र अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१% रहेको छ ।

चालु आवको वैशाख मसान्तसम्ममा ५४ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ४९ अर्ब ३४ करोड रुपैयाँ बराबरको बोनस शेयर, ४९ अर्ब १६ करोड रुपैयाँ बराबरको डिबेञ्चर, २२ अर्ब ७ करोड रुपैयाँ बराबरको साधारण शेयर, ९ अर्ब ४० करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल १ खर्ब ८८ अर्ब २२ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् ।

यस अवधिसम्म धितोपत्र बोर्डले ५ अर्ब २० करोड बराबरको म्युचुअल फण्ड, ४ अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेञ्चर, ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको साधारण शेयर र ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर गरी कुल १८ अर्ब बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*