वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५% र कर्जा परिचालन १३% ले बढ्यो

२८ जेष्ठ २०७९, शनिबार १२:४५

काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८।०७९ को वैशाख मसान्तसम्मको वित्तीय स्थिति सार्वजनिक गरेको छ । सो विवरणअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ प्रतिशतले बढेको छ भने कर्जा प्रवाहित १३.४ प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकले प्रकाशित गरेको उक्त विवरणअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन र कर्जा परिचालन अघिल्लो वर्षको तुलनामा घट्न पुगेको छ । यसकारण पनि बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव सिर्जना भएको हो ।

केन्द्रीय बैंकले औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत भन्दा तल झार्न निर्देशन दिएपनि बैंकहरुमा निक्षेप संकलन र कर्जा परिचालन घट्दो अवस्थामा रहेको कारण सीडी रेसियो बढ्न पुगेको हो । यसै कारणले पनि बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव सिर्जना भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन १४.३ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ वैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप ११.५ प्रतिशतले बढेको छ ।

यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.५ प्रतिशत, २८.१ प्रतिशत र ५६.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यसै अवधिसम्म यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ३४.३ प्रतिशत र ४९.४ प्रतिशत रहेको थियो ।

त्यस्तै, यता बैंक तथा वित्तीय संस्थाहरुको कर्जा परिचालन पनि अघिल्लो आवको तुलनामा घट्न पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा २३.८ प्रतिशतले बढेको कर्जा परिचालन यस वर्षको सोही अवधिसम्म १३.४ प्रतिशतले मात्रै बृद्धि हुन पुगेको छ ।

वार्षिक विन्दुगत आधारमा २०७९ वैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १६.६ प्रतिशतले बढेको छ ।

समिक्षा अवधिसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २८.२ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*