ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बीच मर्जरबारे छलफल, सम्भवत १००ः१०० मै स्वाप रेसियो टुंगो लाग्ने, चुक्ता पुँजी कति पुग्ला ?

३० जेष्ठ २०७९, सोमबार १२:२९

काठमाडौं । असार मसान्तसम्म पनि मर्जरमा जान तयार नभए कडा नीति दिएसँगै बैंकहरु मर्जरका लागि पार्टनर चुन्ने क्रम बढ्दै छ। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ)हरूलाई निर्देशन दिएका थिए।

गभर्नर अधिकारीले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रित नीतिमार्फत सुविधा कटौती गर्नेसम्मको चेतावनी दिएका थिए । जसको कारण बैंकहरुले मर्जरको प्रस्ताव अघि बढाउन थालिसकेको छन् ।

गत साता मर्जरको सम्झौता गरेको इन्भेष्टमेन्ट र मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब हुनेछ। केही सातामै हिमालयन र सिभिल बैंक समेत मर्जरमा जानेगरी सम्झौताका लागि छलफल गरिरहेका छन्।ग्लोबल आईएमई बैंकसँग मर्जरमा जान जुनसुकै बैंकहरू पनि लालायित हुन्छन्। ग्लोबल आईएमई बैंकसँग बैंक अफ काठमाण्डूले मर्जरको प्रस्ताव गरेको छ।

वाणिज्य बैंकहरू आगामी असार मसान्तसम्म पनि मर्जरमा जान तयार नभए कडा नीति लिने नेपाल राष्ट्र बैंकले संकेत गरेसँगै मर्जरको एजेन्डा फेरि चर्चामा छ।दुबैं बैंकका संचालकबीच मर्जरको लागि औपचारिक र अनौपचारिक बैठकहरू लगातार बसिरहेका छन्। केही सातामै प्रारम्भिक सम्झौता गर्नेगरी दुई बैंकका संचालकबीच तीव्र छलफल भइरहेको ग्लोबल बैंकका एक संचालकले बीमापोष्टलाई जानकारी दिएका छन् ।

‘दुई बैंकबीच मर्जरका लागि छलफल चलिरहेकोले केही दिनमै सबैलाई जानकारी हुन्छ अन्तिम रुप पाउने वा नपाउने बिषयमा ,’ ती संचालकले भने। स्वाप रेसियाको बिषयमा यी दुबै बैंकबीच छलफल भईरेहेको एक संचालकले बताएका छन् । ‘सम्भवत १००ः१०० मै स्वाप रेसियो टुंगो लाग्ने छ,’ ती संचालकले भने।स्वाप रेसियो १०० मा ग्लोबल आईएमई बैंकले सहमति गरेमा बैंक अफ काठमाण्डूले नामको विषय ग्लोबल आईएमई बैंकनै स्वीकार गर्नेसम्मको छलफल केन्द्रित भएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार १० महिनामा सबैभन्दा धेरै कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ। ग्लोबल आईएमई बैंकले ४ अर्ब ३१ करोड नाफा कमाएका छन् ।
बैंंक अफ काठमाण्डूले १० महिनामा १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ। दुई बैंक मर्जरमा गएका अन्य बैंंक मर्जरमा जाँदा पनि ग्लोबल आईएमई बैंकले चुक्ता पुँजीको हिसावले सवैभन्दा ठुलो बैंक बन्ने छ।

ग्लोबल र बैंक अफ काठमाण्डू मर्जरमा गएमा ३४ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पुँजीको बैंक बन्नेछ। ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ भने बैंक अफ काठमाण्डूको १० अर्ब ६२ करोड छ।

बैंक अफ काठमाण्डू बैंकको गत शुक्रबार दोस्रो बजारमा २३५.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने ग्लोबल आईएमई बैंकको अन्तिम कारोबार २६५ रुपैयाँमा कारोबार भएको थियो।

राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन गत महिना सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीतिमार्फत घटाउने र बलिया बैंक बनानुपर्ने निष्कर्ष निकालेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*