सानिमा बैंकले असार १० देखि ५० लाख कित्ता ऋणपत्र जारी गर्ने

२ असार २०७९, बिहीबार ११:०७

काठमाडौं । सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो ।

कम्पनीले ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमा कुनै सामूहिक लगानी कोषबाट आवेदन प्राप्त भएको छैन ।

सो ऋणपत्र खरिदका लागि छिटोमा असार १४ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार २४ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*