असार १५ देखि सर्वसाधारणका लागि साढे १९ लाख कित्ता आइपीओ निष्काशन गर्दै हिमालयन हाइड्रोपावर

७ असार २०७९, मंगलवार १०:०९

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि असार १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता सहित गरी कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा असार १९ गते हुनेछ भने ढिलोमा असार २९ गते हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*