साउन २४ गतेदेखि आइपीओ निष्काशन गर्ने धौलागिरी लघुवित्तको यस्तो देखियो चौथो त्रैमासिक वित्तीय अवस्था

१७ श्रावण २०७९, मंगलवार १२:२४

काठमाडौं । यही साउन २४ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद घट्न पुगेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले २ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.६९ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि संचालन मुनाफा घटेसँगै कम्पनीले नाफामा सुधार ल्याउन नससेको हो । यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी १४.६० प्रतिशतले बढेर १० करोड २१ लाख २५ रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १० प्रतिशतले घटेर ९७ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ ।यस्तै, संचालन मुनफामा गिरावट आएसँगै लघुवित्तको निष्क्रिय कर्जा बढेसँगै सम्भावित जोखिमबापत बढी रकम छुट्याउँदा खुद नाफा घट्न पुगेको हो । यस अवधिसम्म लुघवित्तको निष्क्रिय कर्जा बढेर ४.३७ प्रतिशत पुगेको छ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १२ रुपैयाँ ८७ पैसा घटेर ३७ रुपैयाँ २५ पैसामा सीमित भएको छ ।

यस अवधिसम्म लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषको आकार २७.९१ प्रतिशतले बृद्धि भई कोषमा ११ करोड रुपैयाँ संचित रहेको छ । साथै समिक्षा अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ६३ करोड ७ लाख रुपैयाँ सापटी लिई ६७ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेको भने १ अर्ब ४३ करोड ८४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

लघुवित्तले यही साउन २४ गतेदेखि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आइपीओ निष्काशन गर्ने तयारीमा रहेको छ ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आइपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*