हिमालयन बैंकको खुद नाफा घट्यो, वितरणयोग्य मुनाफा बढ्दा लगानीकर्तालाई फाइदा

काठमाडौं । हिमालयन बैंकको खुद नाफा उल्लेख्य मात्रामा घटेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तिय विवरण अनुसार बैंकको खुन नाफा १७.२२ प्रतिशतले घटेको छ । बैंकको रिजर्भ कोषबाट योगदान दिएपछि बैंकको वितरणयोग्य मुनाफा भने २२.६६ प्रतिशतले बृद्धि हुँदा लगानीकर्ताले करिब २१ प्रतिशत लाभांश पाउन सक्ने देखिएको छ । अघिल्लो आवको वित्तिय विवरणबाट गत आवमा २१ प्रतिशत लाभांश दिएको बैंकले यस वर्ष पनि सोही हाराहारी लाभांश पाउने भएका छन् ।
अघिल्लो आवमा दुई अर्ब ९९ करोड मुनाफा आर्जन गरेकोमा गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ४८ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.२२ प्रतिशत कम हो । खुद ब्याज आम्दानी बढेपनि अन्य सञ्चालन आम्दानी उल्लेख्य घट्दा बैंकको नाफा घट्न पुगेको छ । त्यस्तै, बैंकले सञ्चालन खर्च जोगाएको कारण पनि मुनाफामा उच्च गिरावट आउनबाट जोगिएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३१.०५ प्रतिशत बढेको छ । तर सञ्चालन खर्चमा केही सचेतता अपनाएको कारण जोगिएको छ । बैंकको कुल सञ्चालन आम्दानी ८.२८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १७.८१ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २२ रकोड रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेकोमा गत आर्थिक वर्षमा घटेर १२ करोड ४० लाखमा सीमित भएपनि बैंकले असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ६६ करोड १५ लाख रुपैयाँ कायम गर्न सफल भएको छ ।
नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ९३ पैसा घटेर १९.१४ रुपैयाँमा झरेको छ । गत वर्ष प्रतिशेयर आम्दानी २८.०७ रुपैयाँ थियो । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५० पैसा रहेको छ । बैंकको निक्षेप १९.४३ प्रतिशत र कर्जा १७.४१ प्रतिशत बढेको छ ।