अर्ब क्लबमा रहेका निर्धन उत्थान र छिमेक लघुवित्तलाई दाँजेर हेर्दा, कुन वित्तिय सूचकको अवस्था कस्तो (तथ्याङ्कसहित)

२५ श्रावण २०७९, बुधबार १३:३९

काठमाडौं । हाल संचालनमा ४० भन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्त वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । २७ लघुवित्तले वित्तिय विवरण सार्वजनिक गर्ने बाँकि रहेका छन् ।

गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा छिमेक लघुवित्त वित्तीय संस्था र निर्धन उत्थान लघुवित्त मात्रै अर्बको क्लबमा उक्लिन सफल भएका छन् । अन्य लघुवित्तलाई पछि पार्दै हालसम्म यी दुई संस्थाले अर्बभन्दा बढी नाफा कमाएर ‘टप टु’ को लिस्टमा आफ्ना नाम राख्न कायम राख्न सफल भएका छन् । यस अवधिसम्म छिमेकले १ अर्ब ३ करोडभन्दा बढी नाफा कमाएको छ भने निर्धन उत्थानले १ अर्ब २ करोड मुनाफा आर्जन गरेको छ ।

२०५७ सालमा स्थापना भएको भएको छिमेक लघुवित्तले २०५८ सालमा नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरेको थियो । त्यस्तै, २०५५ साल पुष महिनामा स्थापना भएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सोही वर्षको अन्त्यतिर नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको लाइसेन्स प्राप्त गरेको थियो । तुलनात्मक हिसाबमा छिमेक लघुवित्तले भन्दा निर्धन उत्थान लघुवित्तले राष्ट्र बैंकबाट पहिले लाइसेन्स प्राप्त गरी वित्तीय कारोबार गर्न सुचारु गरेको थियो ।

यस अवधिसम्म आइपुग्दा निर्धन र छिमेकले विभिन्न शीर्षकहरुमा सुधार गर्दै चुक्तापुँजी, जगेडा कोष, खुद नाफा, कर्जा परिचालन जस्ता सूचकहरुमा अर्बभन्दा माथि पुर्याउन सफल भएको छ । यी दुबै लघुवित्तले वित्तीय सूचकमा सुधार गर्दै वित्तीय सेवा समेत विस्तार गर्दै गइरहेको छ । हाल निर्धन उत्थान लघुवित्तको १८५ वटा शाखा कार्यालयबाट वित्तीय सुविधा दिदै आइरहेको छ भने छिमेकले १९३ वटा शाखा कार्यालयबाट वित्तीय सुविधा दिदै आइरहको छ ।

त्यस्तै, छिमेकको कुल सदस्य ४ लाख १७ हजार ४७० जना रहेका छन् भने निर्धन उत्थानको ३ लाख ९७ हजार ५९६ जना रहेका छन् । त्यस्तै, छिमेकको कर्मचारी १२१३ जना छन् भने निर्धनको ११९० जना रहेका छन् ।गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बीमापोष्टले कुन सूचकमा कुन लघुवित्त अब्बल भन्ने विषयमा रिर्पोट तयार पारेको छ ।

गत आर्थिक बर्षको चौथौ त्रैमासको आधारमा छिमेक लघुवित्त वित्तीय संस्था र निर्धन उत्थान लघुवित्त गरेको तुलनात्मक अध्ययन यस्तो छ , 

चुक्ता पुँजीको आधारमा
गत आर्थिक वर्षको चौथो त्रैमासम्म हेर्दा दुबै लघुवित्तको चुक्तापुँजी अर्बभन्दा बढी रहेको छ । तुलनात्मक रुपमा हेर्दा निर्धन उत्थान पुरानो संस्था भएतापनि छिमेकको चुक्तापुँजी बढी रहेको छ । छिमकेको यस अवधिसम्म चुक्तापुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ रहेको छ भने निर्धनको २ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा भने निर्धनले चुक्तापुँजी बृद्धि गर्नमा प्रगति गरेको देखिएको छ । छिमेकको चुक्तापुँजी २७ प्रतिशतले मात्रै बृद्धि हुँदा निर्धन उत्थानको २९.५ प्रतिशतले बृद्धि भएको देखिएको हो ।

 

खुद नाफाको आधारमा
गत आर्थिक वर्षको असार मसान्तसम्म यी दुबै लघुवित्तको खुद नाफा अर्बमाथि रहेको छ । तर अघिल्लो आर्थिक वर्षको तुलनामा भने छिमेक र निर्धन उत्थानको नाफा घट्न पुगेको विवरणले देखाएको छ ।

सो अवधिसम्म छिमेकको नाफा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने निर्धन उत्थानको १ अर्ब २ करोड रुपैयाँ रहेको छ । नाफाको आधारमा पनि छिमेकले निर्धन उत्थानलाई उछिनेको छ । तर अघिल्लो आवको तुनलामा हेर्दा निर्धन लघुवित्तको भन्दा छिमेक लघुवित्तको नाफा गत आवको असार मसान्तसम्म धेरै घट्न पुगेको छ । अघिल्लो आवको यसै अवधिसम्म छिमेकको नाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो भने निर्धनको नाफा १ अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

जगेडा कोषको आधारमा
लघुवित्त वित्तीय संस्थाहरुले आफुले आर्जन गरेको खुद नाफाबाट केही प्रतिशत रकम कोषमा संचित गर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाहरुले भविष्यमा हुन सक्ने आपतकालिन अवस्थाका लागि भनेर जगेडा कोष खडा गरेका हुन्छन् । प्रत्येक आर्थिक वर्षको केही प्रतिशत मुनाफा जगेडा कोषमा संचित गर्नुपर्ने राष्ट्र बैंकको विनियमावलीमा समेत रहेको छ ।

यसैको आधारमा छिमेक लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २७ अर्ब १ करोड ९४ लाख रुपैयाँ कोषमा संचित गरेको छ भने निर्धन उत्थानले १८ अर्ब १८ करोड २८ लाख रुपैयाँ संचित गरेको छ ।

 

खुद सम्पत्तिको आधारमा
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा छिमेक लघुवित्तको खुद सम्पत्ति ३८ अर्ब १७ करोड ५८ लाख रुपैयाँ रहेको छ भने निर्धन उत्थान लघुवित्तको कुल सम्पत्ति २९ अर्ब ७८ करोड १४ लाख रुपैयाँ हरेको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा छिमेकको कुल सम्पत्ति ११.३४ प्रतिशतले बढेको छ भने निर्धन उत्थानको १२.२१ प्रतिशतले बढ्न पुगेको हो ।

खुद ब्याज आम्दानीको आधारमा
आर्थिक वर्ष २०७८।७९ को अन्त्यसम्ममा छिमेक लघुवित्त र निर्धन उत्थानको खुद ब्याज आम्दानी २ अर्बमाथि नाघेको छ । यस अवधिसम्म खुद ब्याज आम्दानी गर्नेमा पनि छिमेक नै अब्बल रहेको छ । छिमेकको यस्तो आम्दानी २ अर्ब ४९ करोडमाथि रहेको छ भने निर्धनको २ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

छिमेकको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा ११.६९ प्रतिशतले बढेको छ भने निर्धन उत्थानको ११.७६ प्रतिशतले घट्न पुगेको हो ।

कर्जा लगानीको आधारमा
हालसम्म यी दुबै लघुवित्त वित्तीय संस्थाहरुको कर्जा परिचालन २० अर्ब भन्दा माथि पुगिसकेको छ । यस अवधिसम्म कर्जा परिचालनको आधारमा समेत छिमेक नै अब्बल देखिएको छ । चालु आवको असार मसान्तसम्म छिमेकले ३२ अर्ब ८८ करोड ७७ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गर्दा निर्धन उत्थानले २७ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरको छ ।

छिमेकको कर्जा लगानी अघिल्लो आवको तुलनामा ३२.१४ प्रतिशतले बढेको हो भने निर्धन उत्थानको १५.५९ प्रतिशतले बढेको हो । तुलनात्मक रुपमा निर्धनको भन्दा छिमेकको सदस्य संख्या धेरै भएको कारण पनि यसको प्रभाव पर्न गएको हो ।

निक्षेप संकलनको आधारमा
लघुवित्त वित्तीय संस्थाहरुमा निक्षेप संकलन संस्थामा कति सदस्य आबद्ध छन् त्यसमा भर पर्दछ । सदस्यहरुले जम्मा गरेको रकम नै निक्षेपको आधार मानिन्छ । यस अवधिसम्म छिमेक लघुवित्तको निक्षेप संकलन २७ अर्ब १ करोड रुपैयाँ पुग्दा निर्धन उत्थानको जम्मा १८ अर्ब १८ करोड रुपैयाँ मात्रै रहेको छ ।

प्रतिशेयर आम्दानीको आधारमा
यी दुबै लघुवित्त संस्था नेप्सेमा सूचीकृत कम्पनी हुन् । गत आवको असार मसान्तसम्म छिमेक लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ४२ पैसा रहेको छ भने निर्धन उत्थान लघुवित्तको ४६ रुपैयाँ ८५ पैसा रहेको छ । प्रतिशेयर आम्दानीमा भने निर्धन उत्थान लघुवित्त बलियो देखिएको छ । यस अवधिसम्म निर्धनको इपीएस छिमेकको भन्दा कम घट्न पुगेकोले पनि धेरै देखिएको हो ।

दुबैको इपीएस अघिल्लो आवको तुलनामा घट्न पुगेको छ ।अघिल्लो आवको यसै अवधिसम्म निर्धनको इपीएस ५४ रुपैयाँ २२ पैसा रहेको थियो भने छिमेकको ६६ रुपैयाँ ४३ पैसा रहेको थियो ।

शेयरधनीलाई वितरण गरिएको लाभांशको आधारमा
अघिल्ला आर्थिक वर्षको मुनाफाबाट यी दुबै लघुवित्त वित्तीय संस्थाहरुले आफ्ना शेयरधनीहरुलाई राम्रै लाभांश वितरण गर्दै आइरहेको छ ।
तुलनात्मक रुपमा हेर्दा छिमेकले भन्दा निर्धनले अघिल्ला आर्थिक वर्षहरुमा बढी लाभांश वितरण गरेको दखिएको छ । निर्धन उत्थानले अधिकतम ६६.६७ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ भने छिमेक लघुवित्तले अधिकतम ४० प्रतिशतसम्म लाभांश वितरण गरेको देखिएको छ ।

निर्धन उत्थान लघुवित्तले आर्थिक वर्ष २०७३।७४ मा शेयरधनीहरुलाई ६६.६७ प्रतिशत लाभाश वितरण गर्दा सोही आवमा छिमेक लघुवित्तले १९.८९ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो ।छिमेकले आर्थिक वर्ष २०७१।०७२ र २०७२।०७३ मा ४०।४० प्रतिशत लाभांश वितरण गरेको थियो । निर्धन उत्थानको लाभंश वितरण हिस्ट्रि हेर्दा न्युनतम ३.९२ प्रतिशत देखि अधिकतम ६६.६७ प्रतिशत लाभांश दिएको देखिएको छ भने छिमेकको न्यूनतम १८ प्रतिशत देखि अधिकतम ४० प्रतिशतसम्म लाभांश वितरण गरिएको देखिन्छ ।

गत आर्थिक वर्षमा निर्धन उत्थान लघुवित्तले आफ्ना शेयरधनीलाई २९.५ प्रतिशत लाभांश वितरण गरेको थियो भने छिमेक लघुवित्तले २७ प्रतिशत लाभांश मात्रै वितरण गरेको थियो ।

उपलब्ध तथ्यांकमा आधारमा गरिएको यो विष्लेषण पूर्ण होइन, खरिद बिक्री अघि थप विष्लेषण गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*