डेढ अर्ब आम्दानी गरेको स्वावलम्बन लघुवित्तको नाफामा सुधार, चुक्तापुँजी अर्ब नाघ्यो

२७ श्रावण २०७९, शुक्रबार ०८:४६

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

गत आवको असार मसान्तसम्ममा लघुवित्तले ७० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा अघिल्लो आवको यसै अवधिसम्मको तुलनामा १३.०९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म लघुवित्तले ६१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै बढ्न पुगेको छ । यसकारण पनि लघुवित्तको नाफामा सुधार देखिएको हो । समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी १४.८९ प्रतिशतले बढेर १ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १४.६१ प्रतिशतले बृद्धि भई ९४ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

साथै समिक्षा अवधिसम्म लघुवित्तले खराब कर्जा उठाउन सफल भएसँगै नाफामा सुधार देखिएको हो । अघिल्लो आवमा १४ करोड १५ लाख १२ हजार रुपैयाँ खराब कर्जा उठाएकोमा यस अवधिसमा लघुवित्तले १४ करोड ७१ लाख ८९ हजार रुपैयाँ खराब कर्जा उठाएको छ ।

नाफा बढेपनि लघुवित्तको यस अवधिसम्म प्रतिशेयर आम्दानी (इपीएस) भने घट्न पुगेको छ । अघिल्लो आवमा ६५ रुपैयाँ ६९ पैसा रहेको इपीएस यस अवधिसम्म घटेर ६२ रुपैयाँ ४३ पैसा कायम भएको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ ३०० रुपैयाँ ८७ पैसा रहेको छ ।

लघुवित्तको यस अवधिसम्म चुक्तापुँजी १९ प्रतिशतले बृद्धि भई १ अर्ब १२ करोड २१ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार २८.८८ प्रतिशतले बढेर कोषमा २ अर्ब २५ करोड ४० लाख रुपैयाँ संचित रहेको छ ।

त्यस्तै, समिक्षा अवधिसम्म लघुवित्तको सापटी ५ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ, निक्षेप संकलन ११ अर्ब ९९ करोड र कर्जा परिचालन १९ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*