बुढेसकालमा बीमितको साहारा बीमा, ….त्यसैले बीमा अभिकर्ता भगवान हुन्

ईश्वर प्रधान
२४ कार्तिक २०७९, बिहीबार २०:३६

परिचय
जीवन विमा व्यवसाय भन्नाले कुनै व्यक्तिको जीवन संबन्धमा निजको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार संबन्धी व्यवसाय संझनु पर्छ ।

जीवन बीमा बीमित (बीमा गरिने व्यक्ति) र बीमक (जीवन बीमा कम्पनी) बीच गरिने करार हो। (Insured Person) ले आफ्नो व्यक्तिगत विवरण, स्वास्थ्य सम्बन्धी जानकारी र आर्थिक अवस्थाकोसम्पूर्ण विवरण सहित बीमा प्रस्ताव बीमक (Insurer) समक्ष पेश गर्दछ । बीमा कम्पनीले उक्त प्रस्तावको छानबीन गर्दछ । यस्तो छानबीन गर्ने कार्यलाई जोखिमाङ्कन भनिन्छ ।

बीमकले जोखिमाङ्कन गर्दा स्वास्थ्य सम्बन्धी मेडिकल चेकजाच समेत गर्दछ । आर्थिक विवरणहरुमा बैक स्टेटमेन्ट, तलब प्रतिवेदन र कर चुक्ता प्रमाणपत्र आदि माग गरिन्छ । बीमितको स्वास्थ्य र आर्थिक अवस्था राम्रो भएको यकिन भए पश्चात बीमा प्रस्तावले स्वीकृति प्राप्त गर्दछ । बीमा प्रस्ताव स्वीकृत भए पश्चात बीमितसँग बीमा शुल्क  माग गरिन्छ । बीमितले बीमाशुल्क भुक्तानी गरे पश्चात बीमा कम्पनीले बीमितको नाममा बीमालेख (Insurance Policy) जारी गर्दछ ।

बीमालेखमा बीमितको नाम, थर, ठेगाना, इच्छाएको व्यक्तिको नाम, थर र ठेगाना उल्लेख गरिएको हुन्छ । बीमालेखमा बीमितको जन्म मिति, बीमा प्रारम्भ मिति, बीमा समाप्ति मिति, बीमाङ्क रकम, बीमाशुल्क रकम, बीमा अवधि , बीमाशुल्क भुक्तानी गर्ने तरिका, (वार्षिक/अर्धवार्षिक/त्रैमासिक/मासिक), बीमालेखको प्रकार वा बीमालेखको नाम आदि उल्लेख गरिएको हुन्छ । बीमालेखमा बीमाङ्क भुक्तानी दिने अवस्था, भुक्तानी पाउने व्यक्ति समेत स्पष्ट उल्लेख गरिएको हुन्छ ।

यसका अतिरिक्त बीमालेखमा बीमाशुल्क भुक्तानी गर्ने मोहलत, समर्पण मूल्य, चुक्ता बीमालेख, कर्जा सम्बन्धी व्यवस्था, व्यतित बीमालेखको पुनर्जागरण, बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु समेतकोजानकारी उल्लेख गरिएको हुन्छ । उक्त जानकारीहरु बीमितलाई अति आवश्यक जानकारीहरु हुने हुँदा बीमालेख खरिद गरिसके पश्चात बीमितले सम्पूर्ण जानकारीहरु अध्ययन गर्नु पर्दछ ।

बीमितले आफ्नो बीमालेख बीमालेख अवधिभर सुरक्षित रुपमा राख्नु पर्दछ । कर्जा लिनु पर्दा, बीमालेख समर्पण गर्दा, बीमा अवधि समाप्तिमा, मृत्यु दाबी गर्नुपर्दा सक्कल बीमालेख बीमा कम्पनीलाई बुझाउनु पर्ने हुन्छ । बीमितले बीमाशुल्क भुक्तानी गर्ने तरिका छनौट गरेको आधारमा वार्षिक वा अर्धावार्षिक वा त्रैमासिक वा मासिक नियमित भुक्तानी गर्नु पर्दछ । बीमाशुल्क भुक्तानी गरेको रसिद बीमालेखसँगै राख्नुपर्दछ । आफूले जीबन बीमा गरेको जानकारी परिवारलाई दिनु पर्दछ ।

कुनै पनि व्यक्तिको जीवनको उत्तरार्धमा आवश्यक पर्ने रकमको जोहो गर्ने विभिन्न माध्यमहरु मध्ये जीवन बीमा एक हो। व्यक्तिको जीवनको अनिश्चितताले गर्दा आश्रित परिवारलाई पर्न जाने आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने व्यवस्था नै जीवन बीमा हो।

व्यक्ति वा परिवारको जीवन बीमा मार्फतआर्थिक जोखिमलाई बीमा कम्पनीमा हस्तान्तरण गरी निश्चिन्त रुपमा जीवन यापन गर्न सकिन्छ । जीवन बीमा एकातर्फ भविष्यको लागि बचत गर्ने माध्यम हो भने अर्को तर्फ कुनै पनि व्यक्तिको जीवनमा भविष्यमा आईपर्ने संभावित दुर्घटनाको कारणले हुने आर्थिक जोखिमबाट बच्नको लागि गरिने बीमित र बीमक बीच भएको कानूनी करार हो। जीवन बीमाका उद्देश्य, महत्व र फाइदा जीवन बीमा विभिन्न उद्देश्य राखेर गरिन्छ ।

बचत र लगानी गर्ने, जोखिम हस्तान्तरण गर्ने, करछुट प्राप्त गर्ने, ऋण भारबाट मुक्ति पाउने, आश्रितलाई भलाई होस भन्ने जस्ता उद्देश्यले बीमा गरिएको हुन्छ । यी उद्देश्यहरु प्राप्त गर्नुका अतिरिक्त जीबन बीमाको आफ्नै महत्व पनि रहेका छन्।

यो सर्वोत्तम बचत हुनुका साथै अनिवार्य बचत पनि हो। बुढेसकालमा यसले पेन्सन तथा उपदानको काम गर्छ । बालबच्चाको उच्च शिक्षा र विवाह खर्चको लागि यसको ठूलो महत्व रहेको छ । नागरिकलाई रोजगारीको अवसर प्रदान गरी राज्यमा बेरोजगारको समस्यालाई न्यूनीकरण पनि गर्दछ । परिवार र सम्पत्तिको सुरक्षाको लागि यसको महत्वपूण भूमिका रहेको हुन्छ ।

जीवन बीमाका उद्देश्य, महत्व र फाइदाहरु एकमुष्ट रुपमा देहाय बमोजिम चर्चा गरिएको छ :

१. सर्वोत्तम बचत

बचत भन्नाले आफ्नो आम्दानीबाट आवश्यक खर्च गरी बाँकी रहेको रकमलाई बुझिन्छ । नेपाली परिवेशमा रोजगारी मार्फत हुने आय आम्दानी अत्यन्त न्यून हुने हुँदा बचत गर्न गाह्रो छ । करिब आय बराबरी नै खर्च हुने वा आय भन्दा बढी खर्च भएको अवस्थामा बचत हुदैन । पछिल्लो समयमा सहकारीमा बचत, आमा समूह, महिला समूह र लघवित्त कार्यक्रम जस्ता सामूहिक रुपमा बचत गर्ने प्रचलन बढ्दै गएको छ । यस्ता बचतले जम्मा भएको बचत रकमको आधारमा उच्च दरमा ब्याज आर्जन गर्दछन्।

वर्ष वर्षमा वा ६–६ महिनामा वा ३–३ महिनामा बीमाशुल्क भुक्तानी गर्ने गरी जीबन बीमा गरेर पनिबचत गर्न सकिन्छ । यसो गर्दा बचतका साथ जीवन बीमा मार्फत जोखिम पनि वहन हुन्छ । बीमाशुल्क मार्फत बचत गर्दा बीमा अवधि समाप्तिमा बीमाङ्क र बीमा अवधि भरको बोनस रकम बीमितले फिर्ता पाउदछ । यदि बचत गर्ने व्यक्तिको बीमा अवधि भित्र मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस निजको इच्छाएको व्यक्तिले प्राप्त गर्दछ । यसरी हेर्दा बीमा मार्फत बचत र जोखिम वहन दुबै हुन्छ । बैंक वित्तीय संस्थामा गरिने बचतमा प्राप्त हुने ब्याज निक्षेप रकमको निश्चित प्रतिशत तोकिएको हुन्छ ।

जति रकम निक्षेप गरिएको छ त्यति नै रकमले ब्याज आर्जन गर्दछ भने बीमा गर्दा बीमाङ्क रकमको आधारमा बोनस प्रदान गरिन्छ जवकी वार्षिक वा अर्धवार्षिक भुक्तानी गरिने बीमा शुल्क बीमाङ्कको आधारमा अत्यन्त न्यून हुन्छ ।

२. अनिवार्य बचत
बैंक वित्तीय संस्थामा गरिएको बचत अनिवार्य हुदैन । जुनसुकै बेला बचत गर्न पनि सकिन्छ । जुनसुकै बेला बचत झिकेर खर्च गर्न पनि सकिन्छ । यस्तो बचत ऐच्छिक बचत हो। समय समयमा बचत नगर्दा कुनै जरिवाना तिर्नुपर्दैन । बचत नगर्दा बचतकर्तालाई कुनै हानी नोक्सानी हुदैन । तर बीमामा त्यस्तो हुदैन, वार्षिक वा अर्धवार्षिक वा त्रैमासिक कुन तरिकाले बीमा शुल्क तिर्ने बीमा गर्दाको बखतमा नै निश्चित गर्नु पर्दछ । सोही आधारमा निर्धारित समयमा अनिवार्य रुपमा बीमा शुल्क भुक्तानी गर्नु पर्दछ ।

तोकिएको अवधिभित्र बीमाशुल्क भुक्तानी नगरेमा बीमा शुल्कमा ब्याज लाग्नुका साथै जोखिमवहन पनि हुन छाड्छ । त्यसैले निर्धारित समयमा बीमाशुल्क भुक्तानी नहुँदा बीमितलाई दोहोरो घाटा हुन्छ । यस कारणले गर्दा बीमा शुरु गरिसकेपछि त्यसको बीमा शुल्क अनिवार्य रुपमा निर्धारित समयमै भुक्तानी गर्नुपर्ने हुँदा यसलाई अनिवार्य बचत भएको हो।

३. ऋणभारबाट मुक्ति
जीवन बीमाको अर्को फाइदा ऋणभारबाट मुक्ति गर्नु पनि हो। यदि कुनै व्यक्तिले बैंक वित्तीय संस्थाबाट घर जग्गा खरिद गर्न वा घर निर्माण गर्न वा कुनै पनि व्यापार व्यवसाय गर्न ठूलो ऋण लिन्छ भने उक्त ऋणको साँवा किस्ता र ब्याज किस्ता बैंकले निर्धारण गरेको समयमा तोकिएको किस्ता रकम तिर्दै सो ऋण चुक्ता गर्नुपर्ने हुन्छ ।

यो ऋण चुक्ता हुन तब मात्र सम्भव हुन्छ उक्त ऋण चुक्ता नभएसम्म ऋणी वा आम्दानी गर्ने व्यक्ति जिवित रहन्छ र कमाइरहन्छ । यदि ऋण चुक्ता नहुँदै ऋणी वा आयकर्ताको मृत्यु भएमा उक्त ऋणको किस्ता भुक्तानी हुन छाड्छ । बैंकले परिवारलाई ऋण तिर्न अनुरोध गर्दै ताकेता गर्दछ । परिवारले सो ऋण समयमा किस्ता नियमित गर्न नसकेमा बैंकले ऋण दिँदा धितोमा राखिएको घर वा जग्गा लिलाम गरी ऋण र ब्याज असुल उपर गर्दछ । यसरी हेर्दा परिवारले आयकर्ता आफन्तलाई गुमाउनुका साथै निजले जोडेको सम्पत्ति समेत गुमाउनु पर्ने बाध्यता हुन्छ ।

यदि उक्त ऋणी वा आयकर्ताले ऋण रकम बराबर बीमाङ्क हुनेगरी जीबन बीमा गरेको छ भने उसको मृत्यु भएमा परिवारले बीमाङ्क रकम र आर्जित बोनस प्राप्त गर्दछ । बीमाङ्क रकमले बैंकको ऋण तिर्न सकिन्छ । यसरी परिवारले आयकर्ता वा आफन्तलाई गुमाउनु परेपनि निजले जोडेको सम्पत्ति गुमाउनु पर्दैन । त्यो सम्पत्ति उपहार स्वरुप जीवन्त रहन्छ । सामान्यतया कम उमेरका व्यक्तिको आकस्मिक रुपमा कालगतिले मृत्यु हुदैन । यदि मृत्यु भएमा दुर्घटनाबाट हुन्छ ।

दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्कको दोब्बर रकम र आर्जित बोनस परिवारले प्राप्त गर्दछ । यसो हँुदा परिवारलाई थप आर्थिक सहयता मिल्दछ । दुर्घटनामा परी अपाङ्ग भई आम्दानी गुमेमा त्यस पछिको बीमाको बीमाशुल्क किस्ता मिन्हा
हुन्छ साथै अपाङ्ग भत्ता मासिक रुपमा प्राप्त हुन्छ जुन ऋणको किस्ता तिर्न उपयोग गर्न सकिन्छ । ऋणीलाई ऋणको साँवा किस्ता र ब्याज किस्ता नियमित तिर्नुपर्ने आर्थिक बोझ पर्ने हुँदा सावधिक जीवन बीमा गर्न थप आर्थिक बोझ थपिने हुँदा सावधिक जीवन बीमा गर्न असमर्थ भएमा म्यादी जीवन बीमा गर्नु उचित हुन्छ । म्यादी जीवन बीमाले जोखिमवहन मात्र गर्ने भएकोले यसको बीमा शुल्क धेरै सस्तो पर्दछ । यसरी जीवन बीमाको माध्यमबाट ऋणी र उसको परिवारले ऋणभारबाट मुक्ति पाउन सक्दछ ।

४. ऋण लिने सुविधा
सामान्यतया ऋण लिनको लागि जीवन बीमा गरिदैन । तर, जीवनभरको आम्दानी एक समान नहुन सक्छ । आर्थिक रुपमा समस्या परेको अवस्थामा जीवन बीमाबाट ऋण लिने सुविधाको उपयोग गर्न सकिन्छ । बीमितले ३ वर्षको बीमा शुल्क किस्ता तिरेको र बीमा गरेको तीनवर्ष अवधि पूरा भएपश्चात समर्पण मूल्यको नब्बे प्रतिशत बराबरको रकम निश्चित ब्याजदरमा ऋण उपलब्ध हुन्छ । यस्तो ऋण अवधि भित्र चुक्ता गर्नुपर्दछ भने ब्याज अर्धवार्षिक रुपमा तिर्नु पर्दछ । ब्याज समयमा नतिरेमा साँवामा समावेश भई चक्रवर्ती ब्याज लाग्दछ । ऋण र ब्याज बीमा अवधि भित्र चुक्ता नगरेमा बीमा अवधि समाप्तिमा बीमितले पाउने रकममा कट्टा गरी भुक्तानी गर्ने गरिन्छ । ऋण लिने व्यवस्था केवल सुविधा मात्र हो। बीमालेख धितो राखि ऋण लिनै पर्छ भन्ने होइन । आवश्यक पर्दा यसको उपयोग गर्ने हो।

५. आश्रितहरुको लागि भलाई
जीवन अनिश्चित छ भन्ने कुरा हामी सबैलाई थाहा छ । बीमित बीमा अवधि भर जिवित रहेमा बीमा समाप्तिमा उसले बीमाङ्क र एकमुष्ट बोनस रकम प्राप्त गर्दछ । बीमा चालू रहेको अवस्था बीमा अवधि भित्र यदि बीमितको मृत्यु भएमा उसको परिवारले बीमाङ्क रकम र आर्जित बोनस प्राप्त गर्दछ । उक्त प्राप्त रकम निजको परिवारको आश्रित सदस्यको पालनपोषण, शिक्षा र औषधोउपचार लगायतकाn आर्थिक आवश्यकता पूर्तिका लागि उपयोग भई आश्रितको भलाई हुन्छ । यस सन्दर्भमा एउटा छोटो कथा प्रस्तुत गर्दछु।

कथा : अभिकर्ता भगवान हुन्

बाबु, आमा र ५ वर्षकी सानी छोरी सहित ३ जनाको एउटा सुन्दर परिवार थियो। बाबु कम्पनीमा जागिर गर्दथ्यो। आमा गृहिणी थिईन । सानी छोरी भर्खर स्कूल जान थालेकी थिईन । बाबुको जागिर राम्रै थियो घर खर्च, छोरीको पढाई खर्च लगायतका अन्य खर्च गरेर पनि राम्रै बचत हुन्थ्यो। एक दिनको कुरा हो बाबु अफिसबाट घर फर्कदैगर्दा दुर्घटनामा परी उसको मृत्यु भयो। मृत लास घरको आँगनमा राखिएको थियो। अन्तिम दाहसंस्कारको लागि तयारी हुँदै थियो। सबैआफन्त परिवारजन उपस्थित थिए ।

रुवाबासी चलिरहेको थियो। मृतकको पत्नी बेस्सरी चिच्याई चिच्याई रोइरहेकी थिईन । यी सबै कुरा छोरीले देखिरहेकी थिईन । दाहसंस्कारको कार्य सम्पन्न भयो। काजक्रियाको कार्य शुरु भयो। पत्नी सधै जसो रोइरहेकी थिईन जुन स्वभाविक नै थियो। आफन्त, नातेदार, छरछिमेक आउथे पत्नीलाई सम्झाउथे। नानी, तिम्रो भाग्यमा यस्तै रहेछ, धेरै चिन्ता नगर भगवानले हेर्नुहुन्छ । माईतीतर्फका मान्छेहरु आउथे। सानी छोरीलाई नियाल्थे, काजमा बसेकी मृतकको
पत्नीलाई ढाडस दिन्थे। नानी, नआत्तिनु भगवान छन्। उहाँले तिम्रो दुख हेर्नुहुन्छ ।

उपस्थित हुने सबै आफन्त र छिमेकीहरुले यस्तै यस्तै आश्वासन दिदैँ गए । तेह्रदिनको काजक्रिया सम्पन्न भयो। तेह्र दिनसम्म काजक्रिया गरिएको हँदा दैनिक जसो कोही न कोही आफन्त र छरछिमेकहरु आउथे। तेह्र दिनपछि घरमा आउने क्रम घट्दै गयो। आफन्तहरु पनि आ–आफ्ना घर तर्फ फर्के । केहिदिन पछि गाउँकै एकजना मान्छे उनको घर आयो। उसले आफ्नो परिचय दिदैं भन्यो म बीमा कम्पनीको अभिकर्ता हुँ । मैले तपाईंको श्रीमान्लाई पचास लाखको जीवन बीमा गर्न प्रस्ताव गर्दा सहजै स्वीकार गरी उहाँले तपाईहरुको दम्पतीको बीमा गर्नु भएको थियो। उसले भन्यो तपाईँको श्रीमान्को मृत्यु भएछ । साह्रै दुख लाग्यो। नआत्तिनुस, हामी छौ। तपाईंको छोरीको पढाईलाई निरन्तरता दिन हामी सहयोग गर्छौ ।

तपाईको श्रीमान्को मृत्यु दर्ता प्रमाणपत्र, नागगिरकता आदि कागजात मलाई दिनुस, म केही दिन पछि आउँछु। दुई तीनदिन पछि उक्त अभिकर्ता फेरि उनको घरमा आयो। उसले केही कागजातमा उनलाई सहीछाप गर्न लगायो र एउटा एक करोड रूपैयाँको चेक दिँदै भन्यो “यी यो चेक लिनुस यो तपाईंको श्रीमान्ले गर्नु भएको बीमाको दाबी रकम । यो बीमालेख दम्पतीको भएको हुनाले तपाईको पनि पचास लाख रूपैयाँको बीमा बाँकी नै छ । यो परिवर्तित बीमालेख यहाँ छ, लिनुस ।”

उनले सोधिन “मैले मेरो बीमाको कति पैसा जम्मा गर्नुपर्छ ?” अभिकर्ताले भन्यो “पर्दैन, यो पोलिसी अनुसार दम्पती मध्ये एकजनाको मृत्यु भएमा अर्को बीमितले प्रिमियम तिर्नुपर्दैन ।” उनले धन्यवाद भन्दै चेक र बीमालेख लिईन । अभिकर्ताले सबै कागजात बुझाएर फर्कियो। यी सबैकुरा सानी छोरीले देखिरहेकी थिईन । छोरीले आमालाई सोधिन “आमा अघि आएको मान्छे भगवान हो?” आमाले भनिन “होइन, कहाँ भगवान हुनु, उ त बीमा कम्पनीको अभिकर्ता हो” । तर छोरीले जिद्दि गर्दै भनिन “त्यो मान्छे भगवान नै हो, अभिकर्ता केही होइन” । आमाले सोधिन कसरी नानी? सानी छोरीले भनिन “अस्ति बाबाको मृत्यु हुँदा हजुरआमाले भन्नु भएको थियो तिमीहरुलाई भगवानले हेर्नुहुन्छ । भगवानले सबैलाई
हेर्छन भनेर काकीले पनि भन्नु भएको थियो। हो त्यही भगवान हो त्यो मान्छे।”आमाले यसो विचार गरिन वास्तवमा उसले मेरा पतिलाई बीमा प्रस्ताव नगरेको भए उहाँले बीमा गर्नुहुने थिएन । बैंकमा २– ४ लाख बचत त हुन्थ्यो होला तर यतिको ठूलो रकम त हुदैन थियो। यी सबै कुरा मनन गरेर त्यो अभिकर्ता हाम्रो परिवारको लागि भगवान नै सावित भयो। छोरीलाई जवाफ दिदैं भनिन “हो नानी, तिमीले ठीक भन्यौ त्यो मान्छे हाम्रो लागि भगवान नै हो” ।

६. आयकरमा छुट
नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बार्षिक बजेट मार्फत रोजगारीबाट प्राप्त आय गर्ने रोजगारकर्ताले जीवन बीमा गरी भुक्तानी गर्ने बीमाशुल्क रकमको आधारमा वार्षिक चालीस हजार रूपैयाँ सम्मको आयमा आयकर छुट हुने व्यवस्था गरिएको छ । गत आ.व.सम्म यस्तो आयकर छुट सुविधा पच्चीस हजार रूपैयाँमा सीमित थियो। हाल नेपालमा आयकरको व्यवस्था अनुसार आयकरको दरहरु आम्दानीको आधारमा १०%, २०%, ३०% र ३६% रहेका छन्। चालीस हजारमा आयकर छुट पाउनु भनेको १०% छुट पाउनेले चार हजार रूपैयाँ छुट पाउँछ ।

अर्थात चालीस हजार प्रिमियम तिरेपनि करछुट घटाउने हो भने छत्तीस हजार रूपैयाँ नेट प्रिमियम हुन्छ । त्यसै गरी, २०% छुट पाउनेले आठ हजार रूपैयाँ छुट पाउँछ । अर्थात चालीस हजार प्रिमियम तिरेपनि करछुट घटाउने हो भने बत्तीस हजार रूपैयाँ नेट प्रिमियम हुन्छ । त्यसैरी नै, ३०% छुट पाउनेले बाह्र हजार रूपैयाँ छुट पाउँछ । अर्थात चालीस हजार प्रिमियम तिरेपनि करछुट घटाउने हो भने अठ्ठाईस हजार रूपैयाँ नेट प्रिमियम हुन्छ । अन्त्यमा, ३६% छुट पाउनेले चौध हजार चार सय रूपैयाँ छुट पाउँछ । अर्थात चालीस हजार प्रिमियम तिरेपनि करछुट घटाउने हो भने पच्चीस हजार छ सय रूपैयाँ नेट प्रिमियम हुन्छ ।

मानौ, कुनै रोजगारकर्तालाई आयको आधारमा ३०% कर लाग्छ । उसले वार्षिक चालीस हजार रूपैयाँजम्मा गर्ने गरी २० वर्षको बीमा गर्ने हो भने उसको करिब आठ लाख बीमाङ्कको जीवन बीमा हुन्छ । उसले वार्षिक चालीस हजार जम्मा गर्ने भए पनि वार्षिक बाह्रहजार रूपैयाँ करछुट प्राप्त गर्दछ । यसरी पुरा बीमा अवधिमा प्रत्येक वर्ष बाह्रहजारका दरले कुल दुईलाख चालीस हजार छुट प्राप्त हुन्छ । आठ लाखको बीमा गर्दा पाँचलाख साठीहजार मात्र नेट प्रिमियम भुक्तानी हुन्छ ।

हालको चालीस हजारको करछुटको सीमालाई बढाई एकलाख रूपैयाँ पुयाउन सकिएमा बीमा व्यवसायमा उल्लेख्य वृद्घि हुने देखिन्छ ।

७. बुढेसकालको लागि साहारा
मानिस उमेर छँदा वा जवान हुँदा शरीरमा शक्ति हुन्छ । काम गर्ने क्षमता हुन्छ । जोस जाँगर हुन्छ । काम गर्न सक्छ र आफ्नो जीवन यापन गर्नको लागि कमाई सक्ने हुन्छ । तर उमेर बढ्दै जाँदा शरीर कमजोर हुँदै जान्छ, काम गर्न असमक्र्ष हुँदै जान्छ । फलस्वरुप कमाईमा पनि ह्रास आउछ ।

जब कमाई गर्न नसक्ने हुन्छ, त्यो बेला पैसाको झन धेरै आवश्यकता पर्दछ । बुढेलकाल लाग्दै गर्दा खर्चका शिर्षकहरु पनि धेरै किसिमका हुने गर्दछन्। महत्वपूर्ण कुरा त शरीर कुनै न कुनै रोग लागि थलिन
थालेको हुन्छ । त्यस बेला आफ्नो बचत मात्र साथी हुन्छ । बचत छैन भने परिवारका अन्य सदस्यहरुसँग आस गर्नुपर्ने हुन्छ । छोरा बुहारीसँग पैसा माग्नुपर्ने हुन्छ । उनीहरुको पनि सीमित आयस्रोतसँगै आ–आफ्नै आवश्यकताहरु हुन्छन्। बुढेसकालमा अरुको आर्थिक साहारामा बाच्नुपर्ने बाध्यता हुन्छ । त्यसैले त भनिन्छ “यदि पैसा भएको बेला यसलाई बचाउनु भयो भने मात्र आवश्यक पर्दा तपाईलाई पैसाले बचाउछ” । यस सन्दर्भमा एउटा कथा प्रस्तुत गर्न चाहन्छु।

कथा : वित्तीय बच्चा – एक दम्पतीको कति जना बच्चा जन्माउने भन्ने विषयमा छलफल भएछ । श्रीमान्ले दुईवटा बच्चाको इच्छा गरेछ । श्रीमति श्रीमानको कुरामा सहमत भइछिन तर एउटा शर्त राखिछन । शर्त चाहि दुईवटा बच्चा जन्माउन तयार तर एक पटक मात्र गर्भधारण गर्ने । श्रीमानले सोच्यो यसका लागि एउटै मात्र उपाय छ त्यो हो जुम्ल्याहा बच्चा जन्माउने। उनीहरुको गर्भ बस्यो समय वित्यो र बच्चा पनि जन्म्यो तर केवल एउटा छोरा । चार पाँच वर्ष पछि श्रीमान्को इच्छा बमोजिम दुईवटा बच्चा नभएपछि उसले के विचार गर्यो भने यदि हाम्रो दुईवटा बच्चा भैदिएको भए अहिले एउटा बच्चाको पालन पोषण, शिक्षा र बच्चाको अन्य खर्च जे जति भैरहेको छ, त्यसको ठीक दोब्बर हुने थियो। एउटामात्र बच्चा हुँदा उसलाई भैरहेको खर्च बराबर रकम त बचिरहेको छ ।

यसैको आधारमा उसले वार्षिक खर्च हिसाब गर्यो । त्यति नै रकम वार्षिक किस्ता तिर्ने गरी २० वर्ष आफ्नै= जीवन बीमा गर्यो । दोस्रो बच्चाको खर्च सम्झिएर बीमा गरिएको हुँदा उसले दोस्रो काल्पनिक बच्चाको नाम “वित्तीय बच्चा  दियो। पहिलो बच्चा बढ्दै जान्थ्यो बित्तीय बच्चाको बचत रकम पनि बढीरहेको हुन्थ्यो। उसले सबै वर्षको किस्ता तिर्दै गयो। पहिलो बच्चा २५ वर्षको जवान हुँदा उसले उच्च शिक्षा हाँसिल गरिसकेको थियो। उसले काम गरी कमाई गर्न थालिसकेको थियो। केही वर्षमा उसको विवाह गर्यो, छोरा छोरी भए । यति बेला सम्म वित्तीय बच्चा पनि परिपक्व भैसकेको थियो अर्थात जीवन बीमाबाट पैसा आउने बेला भयो। वित्तीय बच्चाबाट एउटा ठूलो रकम हात परेको थियो।

हाल उक्त पैसा उसले बैंकको मुद्दती खातामा राखेको छ । उसको सरकारी पेन्सन नआए पनि बैंकले उसलाई मासिक व्याज दिन्छ । यसलाई नै उसले पेन्सन ठानेको छ । यो पैसाले उसले आफ्ना नाती नातिनीलाई खर्च गर्छ । आफू र श्रीमतिको औषधोपचारमा खर्च गर्छ । उसले छोरा बुहारीसँग पैसाको आस गर्नु पर्दैन । यो सबै देख्दा श्रीमतिले श्रीमानको दुईवटा बच्चाको इच्छा गरेको कुरा बुझ्छिन । दुबैजना बुढेसकालको जीवन हाँसीखुशी बाँचिरहेका छन्। यसको वास्तविक झलक आउने गरी हिन्दी चलचित्र “बागवन”मा प्रस्तुत गरिएको छ ।

अन्त्यमा, उपरोक्तानुसार जीवन बीमाका महत्व, उद्देश्य र फाईदाहरुका अतिरिक्त यो व्यक्तिको लागि भरपर्दो लगानी हुनसक्छ । जीवन बीमा बालबच्चाको उच्च शिक्षा र विवाहको लागि पनि सुनिश्चित गर्न सकिने औजारको रुपमा उपयोग गर्न सकिन्छ । बीमा कम्पनीले संकलन गर्ने बीमा शुल्कबाट स्रोत परिचालन गरी देश विकासमा लगाउन सकिन्छ । बीमा व्यवसायले नागरिकमा रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यलाई बेरोजगार समस्या न्यूनीकरण गर्न सघाउ पुयाउदछ ।

यसले मानिसको फजुल खर्च गर्ने बानीलाई बचत गर्ने बानीमा परिवर्तन गरिदिन्छ । यसले मानिसको भविश्यमा आईपर्ने आर्थिक जटिलतालाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दछ । जीवन बीमा मानिसको आर्थिक व्यवस्थापनको महत्वपूर्ण औजार हो। यसलाई हरेक आयाममा जोडेर उपयोग गर्न सकिन्छ । थोपा थोपा गरेर सागर बन्छ, त्यसैले आजै देखि थोरै थोरै बचत गरी जीवन बीमा गरी सुनिश्चित भविष्य निर्धारण गरौ। जय
बीमा, जय पुनर्बीमा

 

लेखक मुख्य प्रबन्धक, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका हुन् ।

नेपाल पुनर्बीमा स्मारिका, २०७९ बाट साभार गरिएको

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*