राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन् । बिहीबार दिउँसो राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उहाँहरुलाई बुधबार मन्त्री पदमा नियुक्त गर्नुभएको हो । तीन जना नै कांग्रेसका तर्फबाट मन्त्री बन्नुभएको हो। कानुनमन्त्री बन्नुभएका धनराज गुरुङ नेपाली कांग्रेसका उपसभापतिसमेत हुनुहुन्छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेत केन्द्रीय सदस्य हुनुहुन्छ।
शपथ समारोहमा अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी कर्मचारीलगायतको सहभागिता थियो।












