बीमा क्षेत्रमा दावी भुक्तानीका समस्या र चुनौती तथा समाधानका लागि प्राधिकरणबाट भएका प्रयासहरू

दिनेश कुमार लाल
३ जेष्ठ २०८०, बुधबार १०:४१

जोखिम सुरक्षाको भरपर्दो माध्यम बीमा हो । आर्थिक, सामाजिक र प्राकृतिक प्रकोप लगायत विविध कारणबाट हुनसक्ने आर्थिक हानी नोक्सानीलाई बीमाले आर्थिक सुरक्षा प्रदान गर्दछ । व्यक्तिको आफनो जीवन, सम्पत्ती वा दायित्वमा पर्नसक्ने जोखिमको आर्थिकभार बीमाले बहन गर्दछ ।

बीमा भविष्यमा हुने जोखिमहरूलाई हस्तान्तरण गर्नका लागि बीमित र बीमा कम्पनीबीच सम्पन्न हुने एक प्रकारको लिखित करार हो । बीमितले बीमा कम्पनीसँग आफनो जीवन तथा सम्पत्ति वा दायित्वको बीमा गरिसकेपछि बीमितको मृत्यु, सम्पत्तिमा हानी नोक्सानी भएमा बीमकले बीमा लेखको शर्त वमोजिम दावी भुक्तानी गर्दछ ।

सरकारले बीमालाई अति आवश्यक सेवा अन्तर्गत राखेको छ । बढ्दो बीमा बजारसँगै बीमितको सङ्ख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ । बीमाको विकास र विस्तारसँगै समस्या र चुनौतिहरू पनि बढिरहेका छन् । बीमाको प्रमुख समस्या तथा चुनौतिहरूको विश्लेषण गर्दा दावी भुक्तानीलाई अग्रस्थानमा राख्नुपर्ने हुन्छ ।

वि.सं. २०७९ साल फागुन मसान्तसम्मको तथ्याङ्क हेर्दा निर्जीवन बीमातर्फ कूल ७०,६१९ दाबी सङ्ख्या फछ्र्यौट गर्न बाँकी छ भने जीवन बीमातर्फ २६,७०१ दाबी सङ्ख्या फछ्र्यौट गर्न बाँकी देखिन्छ । बीमालेख बीमाको कानुनी दस्तावेज हो, जसमा बीमा सम्वन्धी शर्त सुविधा लगायत सबै जानकारी उल्लेख भएको हुन्छ । तर बीमा गर्नुभन्दा अगाडी बीमालेख पढ्ने बानी नभएका कारण बीमितले आफनो आवश्यकताभन्दा फरक किसिमको बीमालेख खरिद गर्दा दावी भुक्तानीमा समस्या आउनसक्ने हुन्छ ।

बीमितले बीमा गर्ने वस्तुमा कस्ता कस्ता किसिमको जोखिम निहित हुन्छ, त्यसलाई विश्लेषण गरी जोखिमको आधारमा बीमालेख खरिद गर्दा दावी भुक्तानीमा समस्या न्यून हुनसक्छ । बीमितसँग प्रत्यक्ष सम्पर्क बीमा अभिकर्ताको हुनेहुँदा आर्थिक हैसियत र शारीरिक अवस्थालाई आँकलन गरी बीमा गराउनु अभिकर्ताको नैतिक जिम्मेवारी हो । तर बीमा अभिकर्ताले शारीरिक रोगलाई उजार नगरिदिने, आर्थिक हैसियतभन्दा वढीको बीमा गराइदिने र बीमालेखहरू सम्बन्धी अधुरो जानकारी दिई बीमालेख खरिद गराइदिने कार्यले गर्दा पनि दावी भुक्तानीमा समस्या आएको देखिन्छ । बीमा कम्पनीले बीमितको विश्वास जित्न सक्नुपर्छ । बीमा दावी भुक्तानी समयमै सरल तरिकाले बीमितलाई प्रदान गरेमा स्वःस्फूर्तरूपमा बीमाप्रति सर्वसाधारणको विश्वास बढ्दै जान्छ ।

बीमकले बीमितलाई दिने सुविधा चुस्त र प्रभावकारी बनाउनुपर्छ । दावी भुक्तानीमा ढिलाई गरेमा मुनाफा बढ्छ भन्ने सोचाईबाट बीमक माथि उठ्नु पर्छ । वास्तवमा दावी भुक्तानीमा ढिलाई गरेर होइन छिटो र छरितो बनाएर एवम् झन्झटरहित सेवा दिएर बीमितलाई आकर्षित गर्ने रणनीति बीमकले अँगाल्नुपर्छ । बीमाको विश्वास भनेकै दावी भुक्तानी हो ।

दावी भुक्तानीले बीमकको बजारीकरणमा ठूलो भूमिका खेल्छ । सेवाग्राहीलाई खुशी तुल्याउन सकेमात्र बीमाप्रतिको विश्वासमा वृद्धि भई बीमा बजारको विकास र विस्तार हुनेछ । बीमा दावी भुक्तानीसँग प्रत्यक्षरूपमा कम्पनीको प्रतिष्ठा र ख्याति समेत जोडिएको हुन्छ । बीमा दावी भुक्तानीमा देखिएका चुनौती तथा समस्याहरू

१. उपयुक्त जोखिमाड्ढन नहुनु बीमितले आफनो जीवन तथा सम्पत्तिको बीमा गर्दा सत्यतथ्यहरू प्रस्ताव फारममा उल्लेख गरी बीमक समक्ष पेश गर्नुपर्दछ । बीमित स्वयम् वा अख्तियारप्राप्त व्यक्तिले प्रस्ताव फारम पूर्णरूपमा भर्नु पर्दछ । बीमकले प्रस्ताव फारमलाई मूल्याङ्कन गरी आउनसक्ने जोखिमलाई विश्लेषण गरी बीमाशुल्क लिएर मात्र बीमा गर्नुपर्नेमा बीमकहरूबाट पूर्णरूपमा प्रस्ताव फारम नभरी, बीमाशुल्क नलिई वा घटी लिई बीमा गराउने, बीमा दरको पालना नगर्ने, कतिपय अवस्थामाा घटना भइसकेपछि मिलोमितोमा बीमा गर्ने जस्ता कारणले गर्दा भविष्यमा बीमा दावी भुक्तानीमा समस्या आउने गर्दछ । जोखिमाड्ढन सम्बन्धी अद्यावधिक कार्यविधि नहुनु र बीमकहरूबीच अस्वस्थ प्रतिस्पर्धा भई जोखिमाड्ढन प्रभावकारीरूपमा हुननसक्ने कारणले दाबी भुक्तानीमा समस्या आउने गरेको पाइन्छ ।

२. बीमितमा बीमा सम्बन्धी चेतनाको कमी बीमा गर्ने वस्तुमा कस्ता प्रकारका जोखिमहरू आउन सक्छन्, सो विषयमा बीमितलाई नै पूर्ण जानकारी हुने हुँदा सोही बमोजिम बीमालेखले रक्षावरण गर्नेगरी बीमालेख खरिद गर्नुपर्दछ । तर बजारमा अस्वस्थ प्रतिस्पर्धाका कारण बीमितले सही जानकारीको अभावमा पर्याप्त रक्षावरण हुनेगरी बीमालेख खरीद गर्न नसक्नुले पनि समस्या निम्त्याएको पाइन्छ ।
स्वतःस्फूर्तरूपमा आफनो आवश्यकता पहिचान गरी बीमालेख खरिद गर्नुपर्नेमा वाध्यात्मक रूपमा वा करकापले बीमा गर्दा सही जानकारीको अभावमा दावी भुक्तानीमा समस्या देखिन्छ । तसर्थ आफनो जीवनको बीमा गर्दा आम्दानीको निरन्तरतामा विचार पु¥याउने र सम्पत्तिको बीमा गर्दा जोखिमको विश्लेषण तथा आफनो आवश्यकताका आधारमा
बीमा गर्दा समस्या आउँदैन । बीमा बाध्यता होइन, आजको आवश्यकता हो भन्ने जनमानसमा चेतना अभिवृद्धि गर्नु ठूलो चुनौतीका रूपमा रहेको छ ।
३. बीमकको दावी रजिष्टर अद्यावधिक नहुनु बीमितले बीमा गरेको वस्तुको हानी नोक्सानी भएमा बीमकलाई निवेदन तथा सूचना दिँदा बीमकले क्रमानुसार दावीदर्ता किताबमा अभिलेख गरी सोको जानकारी दावीकर्तालाई दिनुपर्छ । दर्ता किताबमा दावी परेको मिति, दावीकर्ताको नाम, ठेगाना, सम्पर्क नम्बर, दावीकर्ताको बीमितसँगको सम्बन्ध, दावी सम्बन्धी सूचना गरेको माध्यम, दावी परेको बीमाको विषय, मृत्यु वा क्षति भएको स्थान आदि बीमकले अद्यावधिक राख्नु पर्दछ । तर बीमकको दावी रजिष्टर अद्यावधिक नहुनाले बीमकबाट दावी प्रक्रिया समयमै अगाडि नबढाउनुका साथै अनेक बहानामा बीमितलाई अल्झाउनु जस्ता कारणले दावी भुक्तानी नहुने वा ढिलाई हुनेगरेको देखिन्छ ।

४. तोकिएको समयमा दावी भुक्तानी नहुनु बीमकले जीवन बीमाको अन्तिम किस्ता भुक्तान गरिसकेको बीमितको नाममा किस्ता भुक्तान गरेको मितिले १५ दिनभित्र त्यस्तो जीवन बीमाको दावी भुक्तानी गर्नको लागि चाहिने बीमालेख कागजातहरू समेत संलग्न राखी दावी भुक्तानी गर्न आउनको निमित्त भुक्तानी पूर्जी जारी गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । बीमितले सो वमोजिम पेश गरेमा बीमकले आवश्यक जाँचवुझ गरी जीवन बीमालेख अवधि भुक्तान भएको सात दिनभित्र निजलाई जीवन बीमाको दावी भुक्तानी दिनुपर्ने कानूनी व्यवस्था भए तापनि बीमकले समयमा भुक्तानी पूर्जी बीमितलाई जारी नगर्नु वा गरे तापनि बीमितले जानकारी नपाउनु, बीमितले प्रस्ताव फारममा उल्लेख गरेका ठेगाना तथा सम्पर्क नम्बर फरक पर्नु र बीमितले पनि समयमैं कागजात पेश नगर्दा दावी भक्तानीमा ढिलाई भएको देखिएको छ ।

बीमालेखको अवधि समाप्त हुनु अगावै बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति भए निजले र कसैलाई पनि इच्छाएको नभए सबैभन्दा नजिकको हकवालाले त्यस्तो बीमा रकम लिनको लागि दावी सम्बन्धी विवरण, बीमितको मृत्यु प्रमाणपत्र, दुर्घटनाबाट बीमितको मृत्यु भएको भए बीमितको मृत्युको कारणका सम्बन्धमा सरकारी चिकित्सकद्वारा गरिएको शव परीक्षण प्रतिवेदन र सो नभए प्रहरी प्रतिवेदन, बीमितसँगको नाता प्रमाणपत्र पेश गर्नु पर्दछ । यसरी निवेदन प्राप्त भएपछि बीमकले आवश्यक छानवीन गरी र आवश्यक भए अन्य कुराहरू समेत वुझी त्यस्ता कागजातहरू प्राप्त भएको मितिले १५ दिनभित्र दायित्व निर्धारण गरी दावी भुक्तानी लिन आउनको लागि निवेदकको नाममा दावी फर्छ्यौट पूर्जा जारी गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

तर कतिपय अवस्थामा इच्छाएको व्यक्ति दावी गर्न आउँदा विवाद रहनु, जस्तै दुईजना श्रीमतीले दावी रकम माग गर्नु, बीमायोग्य हित नभएको व्यक्तिलाई इच्छाइदिनु, मृत्यु प्रमाणपत्रमा मिति तथा नाममा फरक पर्नु, बीमितसँगको नातामा विवाद हुनु, प्रहरी प्रतिवेदन फरक फरक किसिमले पेश हुनु जस्ता कारणले दावी भुक्तानीमा समस्या तथा ढिलाई भएको देखिन्छ ।

निर्जिवन बीमातर्फ, निर्जीवन बीमा गर्ने बीमितले बीमालेख बमोजिमको दावी गर्नुपर्ने भएमा त्यससम्बन्धी सम्पूर्ण विवरणहरू खुलाई बीमक समक्ष निवेदन दिनुपर्ने हुन्छ । यसरी निवेदन प्राप्त भएपछि बीमकले जाँचवुझ गर्न आवश्यक परेमा तुरून्त सर्भेयर खटाउनुपर्छ । सर्भेयरले आवश्यक जाँचवुझ गरी १५ दिनभित्र बीमकको दायित्व निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमक समक्ष पेश गर्नु पर्छ र त्यसबारे बीमालेखको शर्त तथा सुविधाको अधिनमा रही बीमितले पाउनसक्ने रकम उल्लेख गरी बीमितलाई जानकारी दिनुपर्छ ।

सर्भेयरले बीमक समक्ष प्रतिवेदन पेश गरेको साधारणतया २१ दिनभित्र बीमकले दायित्व ठहर गरी बीमितलाई निर्जीवन बीमाको दावी भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । तर बीमकले समयमा सर्भेयर नखटाउनु, सर्भेयर खटेर गए पनि ढिला गरी घटनास्थलमा पुग्नु, सर्भेयरले एकैपटकमा सवै कागजात तथा विवरण माग नगरी पटक पटक माग गर्नु, भौगोलिक कठिनाईले समयमा सर्भेयर नपुग्नु, बीमितले समयमा कागजात तथा प्रमाण विवरण वुझाउन नसक्नु, दावी पुष्टि गर्ने कागजात तथा अन्य सम्वद्ध कागजात बीमितले उपलब्ध गराउन नसक्नु जस्ता कारणहरूले दावी भुक्तानीमा समस्या भएको पाइन्छ ।

५. सर्भेयरले दिएको प्रतिवेदन बमोजिम दावी भुक्तानी नहुनु बीमा दावीका सम्बन्धमा सर्भेयरले दिएको प्रतिवेदन बमोजिम बीमकले दावी भुक्तानी नगर्ने गरेको भन्ने आम बीमितको गुनासो रहेको छ । सर्भेयरको प्रतिवेदनमा उल्लेखित दावी रकममा पनि यदाकदा बीमकबाट Bargaining हुनु, जसले गर्दा दावी भुक्तानीमा समस्या देखिन्छ । सर्भेयरले गरेको कामप्रति चित नबुझी अर्को सर्भेयर खटाउनु, जसले गर्दा एकले गरेको कार्यमा अर्कोलाई चित्त नबुझनु जस्ता कारणले पनि दावी भुक्तानीमा ढिलाई हुने गर्दछ ।

६. बीमकका पक्षहरूबीच पर्याप्त समन्वय नहुनु दावी सम्बन्धमा प्रत्यक्ष सरोकार राख्ने पक्षहरू बीमित, बीमक र सर्भेयरबीचको सम्बन्ध र खेल्ने भूमिका अहम् हुन्छ । आफूले गरेको दावीका सम्बन्धमा आवश्यक प्रमाण जुटाउने तथा पुष्टि गर्ने जिम्मेवारी स्वतः बीमितमा निहित हुन्छ भने सर्भेयरले क्षतीको निरीक्षण गरी मूल्याङ्कन सहितको प्रतिवेदन समयमा बीमक समक्ष पेश गर्नु पर्दछ । त्यस्तै, बीमकले पनि प्रतिवेदन बमोजिम आर्थिक क्षतिको जाँचवुझ गरी अप्ठ्यारोमा परेका बीमितलाई दावी भुक्तानी गर्नु बीमकको कर्तव्य तथा दायित्व हो । तर यी पक्षहरूबीच पर्याप्त समन्वयको अभावले दावी भुक्तानीमा समस्या देखिन्छ ।

७. नजिर स्थापित भैसकेका दावी समयमा भुक्तानी नहुनु बीमा ऐन, २०७९ ले बीमा दायित्व निर्धारणका सम्बन्धमा बीमक विरूद्ध बीमितले दिएको उजूरीमाथि निर्णय गर्ने अधिकार नेपाल बीमा प्राधिकरणलाई रहेको छ । तेश्रो पक्ष बीमा दावी सम्बन्धी नजिर, तेस्रो पक्ष दायित्व अन्तर्गत सवारीधनीमाथि कारवाही भएका बीमा दावी सम्बन्धी नजिर, बीमालेख जारी भइसकेपश्चात् बीमाशुल्क भुक्तानी गरेको नदेखिए तापनि बीमकको करारीय दायित्व बहन गर्नुपर्ने नजिर, एक्सग्रासिया, नन्स्टेण्डर, Act of God Maintenance Period h जस्ता नजिर नेपाल बीमा प्राधिकरण, उच्च अदालत र सर्वोच अदालतबाट निर्णय भई स्थापित नजिर लगायत अन्तर्राष्ट्रिय नजिर बमोजिम पनि बीमकबाट दावी भुक्तानी नहुनु वा दाबीमा ढिलाई हुनु । जसले गर्दा बीमित मर्कामा परेको पाइन्छ ।

८. बीमकसँग दावी फछ्र्यौटको स्पष्ट र उपयुक्त योजना नहुनु बीमकले दावी फछ्र्यौट कार्यविधि बनाई लागू गर्नुपर्छ । बीमकले बीमालेखमा उल्लेख भए वमोजिम बीमा दावी पेश हुन आएमा त्यस्तो दावीको क्षति मूल्याङ्कन गराउनुपर्ने भए सो गराई र क्षति मूल्याङ्कन गराउनु नपर्ने भएमा त्यसरी पेश भएको मितिबाट तोकिएको अवधिभित्र दावी फछ्र्यौट गर्नुपर्छ । तर बीमकले स्पष्ट र उपयुक्त कार्ययोजनाको अभावले दावी भुक्तानीमा ढिलाई हुन जान्छ । बीमकले सङ्गठनात्मक संरचनाभित्र पर्याप्त दक्ष जनशक्ति नियुक्ति गर्न नसक्नाले, जनशक्तिको आभावमा कार्यवोझले भएको जनशक्तिबाट दावी कार्य सम्पन्न हुन नसक्नुको साथै दावी भुक्तानीको लागि बीमकसँग तरलताको समस्या तथा त्रैमासिक ,अर्धवार्षिक वा वार्षिक व्याज आम्दानी हुन्छ भनेर रोकेर राख्नुको साथसाथै भएको मौज्दातबाट दावी भुक्तानी नगर्नु । यसका साथै कस्ता कस्ता प्रकारका दावीहरूलाई कसरीे प्राथमिकतामा राखी फछ्र्यौट गर्ने तथा कस्ता दावीहरूलाई कति समय सीमाभित्र फछ्र्यौट गर्ने त्यस्को कार्ययोजना बीमकसँग नहुँदा दावी फछ्र्यौटमा समस्या हुने गर्दछ ।

९. अधिकार प्रत्यायोजन नहुनु बीमकले बीमालेखमा उल्लिखित अवधिभित्र बीमितलाई दावी भुक्तानी गर्नुपर्दछ । बीमा दावी भुक्तानी मार्गदर्शन, २०७६ ले दावी भुक्तानी गर्ने अधिकार बीमकको सञ्चालक समितिले तोकिदिए वमोजिम हुनेछ भन्ने व्यवस्था गरेको छ । बीमकले गर्ने दावी भुक्तानी सम्बन्धी काम कारवाहीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सञ्चालक समितिबाट दावी भुक्तानी उप–समिति गठन गर्नुपर्ने हुन्छ ।

बीमकले सबै दावी भुक्तानीलाई केन्द्रिकृत गर्दा स्वभाविक रूपमा दावी भुक्तानीमा ढिलाई तथा समस्या आउन सक्छ । केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयहरूका बीचमा दावी भुक्तानीको अधिकार प्रत्यायोजन हुनु पर्दछ । त्यस्तै दावी भुक्तानीलाई छिटोछरितो फछ्र्यौट गर्न कार्यकारी प्रमुखले दावी भुक्तानी विभागका प्रमुख लगायत प्रदेश प्रमुख र शाखा प्रमुखलाई पनि अधिकार दिनुपर्छ । यसका साथै सञ्चालक समितिले पनि दावी भुक्तानी उपसमितिलाई पर्याप्त अधिकार दिंदा दावी भुक्तानीको निर्णय गर्न सहज हुन्छ । तर विडम्बना केही बीमकहरूमा दावी उपसमिति, प्रमुख कार्यकारी अधिकृत तथा दावी विभागका प्रमुखहरूलाई न्यून रकमको सीमासम्म अधिकार प्रत्यायोजन भएकाले गर्दा दावी भुक्तानीमा सरलता भएको पाइँदैन । बाली, पशुपन्छी, कृषि तथा लघुबीमातफ स–साना दवीलाई अख्तियार प्रत्यायोजन गरी शाखाबाट शीघ्र फछ्र्यौट गर्नुपर्ने व्यवस्था बीमकले गर्नुपर्छ ।

१०. तोकिएको सीमाभन्दा बढी सर्भेयर खटाउनु दावी भुक्तानी मार्गदर्शन, २०७६ ले नेपाल बीमा प्राधिकरणबाट सर्भेयरको इजाजतपत्र बहाल रहेको कुनै पनि व्यक्तिले कुनै एक बीमकमा वढीमा पाँचवटासम्म तथा संस्थागत सर्भेयरले १० वटासम्म सर्भे प्रतिवेदन बुझाउन बाँकी रहेको अवस्थामा पुनः सर्भेयर नियुक्ति गर्न पाइने छैन भन्ने स्पष्ट गरेको छ । तर सो व्यवस्था विपरित उल्लेख्य रूपमा सर्भेयरहरूसँग प्रतिवेदन बुझाउन बाँकी हँुदाहँुदै थप सर्भेयरलाई कार्यमा खटाउनुले गर्दा सर्भेयरसँग भएको कार्यवोझले समयमा बीमक समक्ष प्रतिवेदन पेश नगर्दा बीमितले दावी भुक्तानी पाउन समस्या परेको देखिन्छ । केही बीमकहरूले सीमित सर्भेयरहरूलाई मात्र प्रयोग गर्ने गर्दा अरू सर्भेयरले अवसर पनि पाउन नसकेको गुनासो रहेको छ ।

११. पुनर्बीमकबाट पुनर्बीमा करार बमोजिम दावी भुक्तानी नहुनु पुनर्बीमा गर्ने बीमकले बीमा व्यवसाय गर्ने बीमक र पुनर्बीमा व्यवसाय गर्ने बीमकबीच भएको पुनर्बीमा करारको आधारमा पुनर्बीमा दावी वापतको रकम भुक्तानी गर्नुपर्छ । पुनर्बीमकबाट म्ष्कअजबचनभ ख्यगअजभच माग गर्नु, ऋयलकष्मभचबतष्यल लगायत पुनर्बीमा सम्झौतालाई आफनो अनकूल ब्याख्या गर्नु जस्ता प्रक्रियागत कारणले गर्दा पनि दावी भुक्तानीमा समस्या हुन जान्छ ।

१२. निर्णय कार्यान्वयन नहुनु नेपाल बीमा प्राधिकरणमा परेका दावी उजूरीमाथि निर्णय भएपछि सो निर्णय अनुसारको फैसलामा बोर्ड सदस्यहरूले हस्ताक्षर गरी निर्णयको प्रति उपलब्ध गराएको मितिबाट तीन कार्य दिनभित्र निर्णय कार्यान्वयनका लागि पक्षहरूलाई पत्राचार गरिए तापनि बीमकले निर्णय कार्यान्वयनको पत्र प्राप्त गरेपश्चात् अनेक बहानामा बीमितलाई दावी भुक्तानी नगर्ने गरेका प्रशस्त उदाहरणहरू नेपालको बीमा बजारमा देखिन्छ ।

भुक्तानीमा अनेकौं समस्याहरू रहेको देखिन्छ । हुनेखाने र उच्च हैसियत भएका व्यक्तिहरूले तुरून्तै बीमकबाट दावी पाउने र निमुखा पहुँच नभएका व्यक्तिले दावी भुक्तानी पाउन संघर्ष गर्नुपर्ने अवस्था रहेको भन्ने गुनासाहरू आउने गरेका छन् । निर्णय समयमै कार्यान्वयन नगर्ने बीमकलाई प्राधिकरणबाट उचित कारवाही पनि हुन सकेको छैन । दावी भुक्तानी नै बीमाको विश्वास भएको हुनाले निर्णय वा फैसला भएपछि दावी भुक्तानी गर्नु बीमकको कर्तव्य हो ।

दाबी भुक्तानी फछ्र्यौटका लागि प्राधिकरणबाट भएका प्रयासहरू

१. बीमालेख बमोजिम दाबी भुक्तानी नदिएको वा घटी दिएको कारणले कुनै बीमक विरूद्ध उजूरी परेमा नेपाल बीमा प्राधिकरणले अर्धन्यायिक निकायका रूपमा कार्य गरिरहेको छ ।

२. बीमा दाबी भुक्तानीका सम्बन्धमा बीमक र बीमितबीचको विवादमा मध्यस्थता गर्ने गरेको छ ।

३. उजूरकर्ता र बीमकबीच मिलापत्र गराउने कार्य गर्दै आएको छ ।

४. दाबी भुक्तानी नगरेको कारणले बीमितलाई कुनै क्षति हुन गएमा मनासिव क्षतिपूर्ति भराउने आदेश दिने गरेको छ ।

५. बीमकले दाबी भुक्तानी गर्नुपर्ने देखिएमा भुक्तानी गर्नका लागि सम्बन्धित बीमकलाई आदेश दिने गर्दछ ।

६. बीमकले तोकिएको अवधिभित्र दाबी वापतको दायित्व निर्धारण नगरेमा वा मर्का पर्नेगरी दायित्व निर्धारण गरेमा र तोकिएको समयभित्र दायित्व फछ्र्यौट नगरेमा विषयको प्रकृति तथा गम्भीरता हेरी आर्थिक जरिवाना गर्ने गरेको छ ।

७. बीमा दावी भुक्तानी प्रक्रियालाई छिटोछरितो, पारदर्शी तथा व्यवस्थित बनाई बीमितको हित संरक्षण गर्न प्राधिरणबाट दाबी भुक्तानी मार्गदर्शन, २०७६ जारी गरिएको छ ।

८. बीमा दावी भुक्तानीका सम्बन्धमा परेका उजूरीहरूलाई व्यवस्थित तथा न्यायोचितरूपमा फछ्र्यौट गर्न उजूरी कार्यविधि, २०७६ जारी गरेको छ ।

९. बीमकमा कायम रहेको भुक्तानी हुन बाँकी दावीलाई न्यूनीकरण गर्नका लागि कार्ययोजना माग गरी विश्लेषण गर्ने गरेको छ ।

१०. प्राधिकरणबाट जारी भएको दाबी भुक्तानी मार्गदर्शनले तोकेको सीमाभन्दा बढी फाइल सर्भेयरसँग बाँकी नरहने व्यवस्थाको पालनाका लागि निर्देशन दिइएको छ ।

११. बीमकले दाबीसँग सम्बन्धित आवश्यक कागजात तथा विवरण उपलब्ध गराउनका लागि ताकेता गर्दा पनि कागजात पेश नगरेको दाबीको हकमा सार्वजनिक सूचना प्रकाशन गरी दाबी भुक्तानीका लागि बीमितलाई सूचित गर्न लगाइएको छ ।

१२. दाबी भुक्तानीका सम्बन्धमा बीमकको सञ्चालक समिति, दाबी उपसमिति, प्रमुख कार्यकारी अधिकृत लगायत दाबी विभागका प्रमुखसँग त्रैमासिक रूपमा छलफल गरी आवश्यक निर्देशन दिने गरिएको छ ।

१३. बीमकबाट जारी बीमालेखहरू माथि मृत्यु दाबी, परिपक्व बीमालेखको दाबी र अग्रिम भुक्तानी हुन बाँकी दाबी वापतको रकम बीमित वा बीमितिले इच्छाएको व्यक्ति वा बीमितको प्रमाणित नजिकको हकवालाले प्राप्त गर्नेगरी बैङ्क खातामा जम्मा हुने व्यवस्था गरिएको छ ।
१४. बीमकको दाबी भुक्तानी प्रक्रियालाई प्रभावकारी बनाउन सर्भेयरको रोष्टर तयार गरी सर्भेयरको सङ्ख्या बढाउन निर्देशन दिइएको छ ।

१५. बीमकको दाबी भुक्तानी हुन बाँकी दाबी फाइलहरूलाई फछ्र्यौट गर्नका लागि समय सीमा सहितको कार्ययोजना पेश गर्न लगाई सो बमोजिम दाबी फछ्र्यौट भए नभएको मूल्याङ्कन गर्ने गरिएको छ ।

१६. बीमकबाट फछ्र्यौट भएको र हुन बाँकी मासिक, त्रैमासिक र वार्षिक दाबीको विवरण माग गरी विश्लेषण पश्चात् आवश्यक निर्देशन दिने गरिएको छ । निष्कर्षः बीमा दावी भुक्तानीसँग बीमकको प्रत्यक्षरूपमा सम्बन्ध गाँसिएको हुन्छ । बीमकले बीमालेखमा उल्लेख भए वमोजिम बीमा दावी पेश हुन आएमा त्यस्तो दावीको क्षति मूल्याङ्कन गराउनुपर्ने भए सो गराई र क्षति मूल्याङ्कन गराउनु नपर्ने भए त्यसरी पेश भएको मितिबाट तोकिएको अवधिभित्र बीमितलाई दावी भुक्तानी गरेमा बीमकको प्रतिष्ठा र ख्याती समेत बढ्नेछ । बीमकले दावी भुक्तानी प्रक्रियालाई सरल बनाई छिटोछरितो तवरले दावी भुक्तानी गरी आम जनमानसमा बीमाको आवश्यकता र अपरिहार्यता महशूस गराउन सक्नुपर्छ ।

बीमको नाममा फर्जी दावीलाई अनुसन्धान गरी निरूत्साहित गर्नुपर्छ । दावीका सम्बन्धमा आवश्यक प्रमाण तथा कागजात समयमै सर्भेयरलाई उपलब्ध गराई क्षति मूल्याङ्कन कार्यमा सहयोग पु¥याउनु बीमितको नैतिक कर्तव्य हो । सर्भेयरले पनि क्षतिको मूल्याङ्कन गरी प्राप्त प्रमाण एवम् कागजात तथा विवरणका आधारमा तोकेको समयमा प्रतिवेदन बीमक समक्ष पेश गर्ने र बीमकले आवश्यक जाँचबुझ गरी यथासम्भव छिटोछरितो एवम् झण्झटरहित तवरले दावी भुक्तानी गर्दा समग्र बीमा क्षेत्रको विश्वसनीयता वृद्धि हुनेमा दुई मत छैन ।

दिनेश कुमार लाल नेपाल बीमा प्राधिकरणका निर्देशक हुन् ।

नेपाल बीमा प्राधिकरणको ५५ औं बिशोषङ्कबाट साभार गरिएको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*